
काठमाडौं। नेपाली सेनाको नक्कली ट्रक (कलर पोतेर) बनाई भारतबाट रजनीगन्धा ढुवानी गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ। भारतबाट गैरकानुनीरूपमा सुगन्धित गुट्खा आयात गर्ने चार जनालाई कारबाहीको माग गर्दै राजस्व विभागले मुद्दा दर्ता गरेको हो।
प्रतिवादीहरूले भारतमा उत्पादित रजनीगन्धाको बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन (३११.०४ केजी) गैरकानुनी ट्रकमा राखेर ढुवानी गर्ने क्रममा विभागले पक्रिएको थियो।
यसरी ढुवानी गरिएको गुट्खा काठमाडौं लगायतका क्षेत्रमा बेचबिखन गर्ने गरेको विभागको अनुसन्धानमा देखिएको छ। चार जनाविरुद्ध दायर मुद्दामा विभागले १८ लाख ४६ हजार बिगो मागदाबी गरेको छ।
यस्तै प्रतिवादी तीर्थराज ढकालको हकमा रजनीगन्धा ओसारपसारमा संलग्न बरामद ट्रक सिप्रदी ट्रेडिङ प्रालिबाट सुरजनमाला जनरल स्टोरको नाममा लिइ दुरुपयोग गरिएकोमा छुट्टै मुद्दा दर्ता भएको छ।