ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लामा जडान कार्य सकियो, अनुगमन बाँकी



बिजमाण्डू
२०७९ असोज २६ गते ०९:०० | Oct 12, 2022


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ।

Tata
Global Ime

ती स्थानमा जडानकार्य सम्पन्न भई सेवा सञ्चालनमा आएको छ। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार सम्पन्न भएकामध्ये हालसम्म १० परियोजनाको अनुगमन तथा परीक्षणको काम सम्पन्न भइसकेको छ।

आठवटा परियोजनाको तेस्रो चरणअन्तर्गतको अनुगमन तथा परीक्षणको काम बाँकी छ।

त्यसैगरी सोही कोष परिचालन गरी भूकम्पबाट अति प्रभावित आठ जिल्ला ( काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्ने प्रक्रिया अगाडि बढिसकेको प्रवक्ता पौडेलको भनाइ छ।

त्यसका लागि हालसम्म कुल ७६ मध्ये ७३ गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रका हस्ताक्षर भएको छ।

आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न र सम्पूर्ण आधारभूत विद्यालयमा गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबिपीएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्ने प्राधिकरणको योजना छ।

प्राधिकरणले भूकम्प प्रभावित आठ जिल्लाका सार्वजनिक संस्थामा इन्टरनेट जडान गरी दुई वर्षसम्मका लागि महसुलवापतको रकम उपलब्ध गराउने भएको छ।

भूकम्पबाट अतिप्रभावित जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट सेवा जडान गरी सञ्चालन गर्ने कार्य अघि बढाएकामा हालसम्म कुल छ सय ५६ मध्ये तीन सय २६ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। रासस