
काठमाडौं। टाटा मोटर्सले केही दिन अघि सार्वजनिक गरेको टियागो इभीमा ग्राहकको क्रेज सोचेधन्दा धेरै देखिएको छ। कम्पनीका अनुसार भारतमा मंगलबारदेखि खोलिएको बुकिङमा एकैदिन १० हजार युनिट बुकिङ भएको जनाएको छ।
कम्पनीले यो गाडी सुरुवाती मूल्य ८ लाख ४९ हजार भारु तोकेर सार्वजनिक गरेको थियो। उक्त गाडी बुकिङ गर्ने सुरुका २० हजार ग्राहकहरुले मात्र सुरुवाती मूल्यमा टियागो खरिद गर्न पाउने कम्पनीले जनाएको छ। त्यसपछि मूल्यमा केही परिमार्जन गरिने कम्पनीको भनाइ छ।
कम्पनीले यो मोडलको टप भेरियन्ट २०२३ को जनवरीमा ग्राहकहरुलाई डेलिभरी दिने जानकारी दिएको छ।
टाटाले ठूलो लङ रेन्ज २४ किलोवाट ब्याट्री प्याक भएको टियागो इभी उत्पादनलाई प्राथमिकतामा राखेको बताएको छ। लक्जरी सेग्मेन्टको टियागो एक्सजेड प्ल्स टेक लक्स सबैभन्दा रुचाइएको भेरियन्ट रहेको जनाएको छ। साथै टिल ब्लू र प्रिस्टाइन ह्वाइट मनपर्ने कलर विकल्पहरू हुन्।
टियागो भारतमा हालसम्म कै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हो। कम्पनीका अनुसार यो गाडीमा दुईवटा ब्याट्री प्याकको विकल्प दिइएको छ। जसमा एउटा १९।२ किलोवाट क्षमताको छ भने यसले एक पटकको फुल चार्जमा २५० किलोमिटर दुरी पार गर्न सकिन्छ। यस्तै अर्को २४ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले जनाएको छ।
यसैगरी यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ।
यसमा स्पोर्ट मोडको पनि उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ।