टोयोटाको पहिलो इभीमा देखिएको टायर फुस्किने समस्या समाधान हुने, ग्राहकलाई अर्को गाडी उपलब्ध



बिजमाण्डू
२०७९ असोज २१ गते १४:२५ | Oct 7, 2022


काठमाडौं। टोयोटाले इलेक्ट्रिक एसयूभीमा पछिल्लो समय देखा परेको गुड्दागुड्दै  टायर फुस्किने समस्या समाधन गर्न बिक्री भएका गाडीहरु फिर्ता लिने भएको छ।

Tata
Global Ime

गत जुनमा टोयोटाले आफ्नो पहिलो विद्युतीय कार बी जेड फोर एक्स किन्ने ग्राहकहरूलाई उक्त गाडी नचलाउन भनेको थियो। कम्पनीका केही गाडीमा केही समय ड्राइभ गरेपछि टायर फुस्किने डरलाग्दो  समस्या देखिएकाले शोरुममा लगेर गाडी जिम्मा लगाउन कम्पनीले ग्राहकलाई भनेको थियो। 

टोयोटाले यसको समाधान कसरी गर्ने भन्ने बारेमा त्यसबेला अध्ययन गरिरहेको थियो। हाल उक्त समस्याको समाधान गर्न कम्पनीले गाडीहरु फिर्ता बोलाइसकेको जनाएको छ।

यो समस्या देखिएको तीन महिना भइसकेको छ। 

टोयोटाका प्रवक्ता आरोन फाउल्सले यस विद्युतीय एसयुभीको लागि टायर निर्माण गर्ने आपूर्तिकर्ताले कम्पनीको स्पेसिफिकेशन अनुसार ठ्याक्कै बनाउन नसकेका कारण यस्तो समस्या आएको बताए। एक्सेलमा पाङ्ग्रा जोड्न प्रयोग हुने हब बोल्टमा पनि समस्या रहेको उनले बताए। ती भागहरूले एसयुभी चलाउँदा पाङ्ग्राहरूलाई कम्पन गर्न अनुमति दिने काम गर्दछ।

यस समस्याको समाधान गर्न टोयोटाले नयाँ  टायरहरु राख्ने जनाएको छ। यी नयाँ टायर, नट र वासरहरू टोयोटाका डिलरहरूलाई पठाइएको छ। कम्पनीले ग्राहकहरूलाई कुनै शुल्क नलिई परिवर्तन गर्ने जनाएको छ। टोयोटाका अनुसार नोभेम्बरदेखि ग्राहकको एसयूभीमा नयाँ टायर लगाउन सुरु गरिने छ।

कम्पनीका अनुसार यो समस्या पत्ता लागेपछि गाडी फिर्ता बोलाउने समयसम्म  दुई सय ६० युनिट गाडी मात्र ग्राहकहरूलाई डेलिभर गरिएको थियो। अगस्टको सुरुमा टोयोटाले केही ग्राहकहरूसँग आफूले खरिद गरेका तर ड्राइभ गर्न नसकेका एसयूभीहरू फिर्ता गर्नका लागि जानकारी गराएको थियो। कम्पनीले समस्या समाधान नभएसम्म ग्राहकलाई अर्को टोयोटा गाडीको निःशुल्क प्रयोग गर्न दिने भएको छ।

यस्तै टोयोटाले ग्राहकहरुलाई उनीहरूको कार भुक्तानी वा खरिद मूल्यको आंशिक ५ हजार डलर फिर्ता गर्ने प्रस्ताव गरेको छ। साथै टोयोटाले फ्याक्ट्री वारेन्टी अवधि पनि बढाएको छ।