
काठमाडौं। नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ।
इन्डियन आयल कर्पोरेसन(आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुनेछ। निगमका वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले निगम डेढ वर्षपछि नाफामा गएको जानकारी दिए।
'आइओसीले दसैं अघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान छ,' उनले बिजमाण्डूसँग भने, 'हामीलाई धेरै पछि अन्तर्राष्ट्रिय मूल्यले साथ दिएको छ।'
यो निगमको मासिक नाफा मात्रै हो। डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा निगमले ५५ अर्ब गुमाएको थियो। निगमले यो अवधिमा तेल ल्याउनका लागि ४० अर्ब ऋण बोकिरहेको छ। ४० अर्बमध्ये झण्डै २५ अर्ब आइओसीलाई र १० अर्ब रुपैयाँ सरकार र वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो।
अब मूल्य घट्छ ?
निगम नाफामा गएपछि मूल्य घटाउने दबाब पनि पर्न थालेको छ। सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा पनि निगमले नघटाएर ठूलो नाफा लिएको भन्दै आलोचना हुन थालेको छ।
मंसिरमा निर्वाचन समेत घोषणा भएकाले सरकारले पनि तेलको मूल्य घटाएर राजनीतिक लाभ लिन खोजिरहेको छ। यी सबै पक्ष हेर्दा मूल्य घट्ने सम्भावना बढी छ। तर निगमका उच्च अधिकारी भने ओपेकले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौतीको घोषणा गरेपछि मूल्य उकालो लागेको भन्दै भाउ नघटाउने पक्षमा छन्। निर्देशक गोइत दसैं बिदामा नयाँ मूल्य आएकाले भाउ घटाउने बारेमा कुनै छलफल नभएको बताउँछन्।
'हामीलाई यसपालिको घटेर आएको नयाँ मूल्यले लगभग डेढ अर्ब नाफा हुन्छ,' उनले भने, 'मूल्यका बारेमा आइतबार माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू ज्यू र सचिव तोयम रायाज्यूसँग छलफलपछि निर्णय हुन्छ।' हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजलको मूल्य प्रतिलिटर १७८ रुपैयाँमा कारोबार भइरहेको छ।