
काठमाडौं। चुनावका लागि सरकारले १ अर्ब १२ करोड रुपैयाँको गाडी खरिद गर्ने भएको छ। सरकारले उक्त मूल्य बराबरका २६५ वटा गाडी खरिद गर्ने भएको हो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तीन कम्पनीलाई गाडी भित्र्याउने जिम्मा दिएका छन्।
सबैभन्दा धेरै सिप्रदी ट्रेडिङले ठेक्का पाएको छ। सिप्रदीले टाटाको गाडी बिक्री गर्छ। टाटाले १३५ युनिट, महिन्द्राले ८० र फुटोनले २५ युनिट गाडी खरिद गर्न ठेक्का पाएका छन्। यी सबै गाडीहरु ५० लाखभन्दा कम मूल्यका रहेको कम्पनीहरुले जानकारी गराएका छन्। त्यही अनुसार टेन्डर आह्वान गरिएको थियो।
सिप्रदीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठका अनुसार टाटाले ४५ करोड बराबरको गाडी खरिद गर्ने जिम्मा पाएको छ। यस्तै कम्पनीले उक्त गाडी ३५ लाखको हाराहारीमा नेपाल प्रहरी र सशस्त्रलाई एक महिनाभित्र उपलब्ध गराउन पर्ने उनले बताए। 'हामीले त्यही अनुसार तयारी थालेका छौं,' उनले भने, 'चुनाव अगाडी उक्त गाडीहरु उनीहरुलाई उपलब्ध हुन्छ।'
यसैगरी महिन्द्राले ४० करोड बराबरको गाडी खरिद गर्ने जिम्मा पाएको हो।
सशस्त्रले दुईवटा कम्पनीको ६० युनिट पिक-अप २१ करोडमा खरिद गर्ने भएको छ। गाडी खरिदका लागि सशस्त्र प्रहरीले निकालेको टेन्डरमा आवेदन परेका कम्पनीमध्येबाट टाटा र फुटोन कम्पनीले टेन्डर हात पारेका छन्।
सशस्त्रले बिहीबार निकालेको एक सूचनाअनुसार उक्त गाडी खरिदका लागि टाटाको गाडी बेच्ने सिप्रदी ट्रेडिङ र फुटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्ल्युले २१ करोडमा ठेक्का पाएका हुन्।
यसमा टाटाको ३५ वटा फोर-ह्वील पिक-अप १० करोड ७७ लाख ५६ हजार रुपैयाँ र फुटोनको २५ वटा फोर-ह्वील पिक-अप १० करोड २७ लाख ४३ हजार रुपैयाँमा ठेक्का पाएका हुन्। सशस्त्रले फुटोनको टुनल्याण्ड इ एस र टाटाको योद्धा मोडलका पिकअपहरु खरिद गर्ने भएको हो।
सशस्त्रले भदौमा ६० वटा गाडी खरिद गर्न टेन्डर आह्वान गरेको थियो। अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई गाडी खरिद गर्न २५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। सशस्त्रले ५० लाख दरका २५ वटा र ३५ लाख दरका ३५ वटा गाडी खरिद गर्न टेन्डर आह्वान गरेको थियो।
सोही बमोजिम टाटाको ३५ लाख दरका ३५ वटा र फुटोनका ५० लाख दरका २५ वटा पिक-अप सशस्त्रलाई ती कम्पनीहरुले उपलब्ध गराउने छन्।
यसैगरी नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेन्डर भदौ २२ गते आह्वान गरेको थियो। जसमा महिन्द्राले ८० युनिट स्कोर्पियो र टाटाले १०० युनिट योद्धा खरिद गर्न जिम्मा पाएको नेपाल प्रहरीले जनाएको छ। यसका लागि आइतबार ती कम्पनीहरुसँग सम्झौता भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरेको थियो। ठेक्का पाएका कम्पनीहरुले एक महिनाभित्र गाडीहरु उपलब्ध गराउनुपर्ने छ।
नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको थियो। अर्थ मन्त्रालयले प्रहरीका लागि गाडी खरिद गर्न ७५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि सो टेन्डर आह्वान गरिएको थियो।
यसमा गाडी ल्याउने कम्पनीहरुले ४ करोड कममा गाडी उपलब्ध गराउने गरी सम्झौता गरेको छ। यसका लागि ४ वटा कम्पनीहरुको आवेदन परेको थियो। गृह मन्त्रालयले पनि चुनावअघि २५ वटा गाडी किन्ने भएको छ।
गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका दरले गाडी खरिद गर्दैछ। यसका लागि पनि १२ करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको गरिएको छ। यसको पनि प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
सरकारले चुनावको लागि भनेर सुरक्षा निकायमा एक अर्ब १२ करोड रुपैयाँ बराबरको गाडी खरिद गर्न लागेको हो।