सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा, एक अर्ब लगानी, ३०० जना अट्ने रेष्टुरेन्ट



बिजमाण्डू
२०७९ असोज ३० गते ०९:१९ | Oct 16, 2022


सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा, एक अर्ब लगानी, ३०० जना अट्ने रेष्टुरेन्ट


काठमाडौं। सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ। रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आएको हो।

Tata
Global Ime

सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुने छ। भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ।

सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जानकारी दिए।

सोल्टीको पहिलो द सोल्टी काठमाडौँ, दोस्रो सोल्टी वेस्ट इण्ड प्रिमियर नेपालगञ्ज सञ्चालनमा छन्। इटहरीमा समूहको सोल्टी वेस्ट इण्ड इटहरी निर्माणाधीन छ। 

उनका अनुसार, ५६ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा प्राप्त अनुभवलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने योजनाका साथ व्यवस्थापन विस्तारको काम थालिएको हो।

नेपालका अन्य पर्यटकीयस्थलमा पनि सोल्टीले आफ्नो लगानी एवं व्यवस्थापन गर्ने योजना बनाएको उनले बताए। पाँचतारे सुविधा दिने यो रिसोर्ट नेपालका व्यवसायीको एक अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको हो।

रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार होटलको व्यवस्थापन सोल्टीले गर्ने भएको हो। रिसोर्टमा १० अत्याधुनिक भिल्ला छन्। यीबाहेक दुई सुपरियर भिल्ला र ४० डिलक्स कोठा छन्।

पाँच सय जना अट्ने एउटा, एक सय ५० जना अट्ने दुई, ७५ जना अट्ने तीन र २५ जना अट्ने दुई हलसमेत छन्। रेष्टुरेन्टमा एकपटकमा तीन सय जनाले बसेर खान सक्ने सुविधा छ।

छुट्टै दुई सय ५० जना अट्ने सुविधासम्पन्न बार पनि छ। यससँगै हेल्थ क्लब रहने छ। बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ।

पाँच बिघा जमिनमा निर्मित रिसोर्ट नजिकै विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ।

टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ। धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने छ।

यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउने गर्न सकिने उनको भनाइ छ।

यससँगै पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनुभयो । शुभारम्भका अवसरमा कोठामा २० प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटसमेत रहेको छ। रासस