काठमाडौं। एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गतका तीन योजनाले लाभांश घोषणा गरेका छन्। म्युचुअल फण्डका डाइनामिक डेब्ट फण्ड, ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले गत आर्थिक वर्षको नाफाबाट एकाइधनीलाई लाभांश दिने भएका हुन्।
एनआइसी एसिया डाइनामिक डेब्ट फण्डले ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। एनआइसी एसिया ग्रोथ फण्ड र एनआइसी एसिया ब्यालेन्स्ड फण्ड दुवैले १३/१३ प्रतिशतका दरले लाभांश वितरण गर्दैछन्। योजनाहरुको लाभांश करसहित हो।
एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड सञ्चालनमा आएपछि यो पहिलो लाभांश दिँदै छ। तर पोहोर ३०/३० प्रतिशत लाभांश एनआइसी एसिया ग्रोथ फण्ड र एनआइसी एसिया ब्यालेन्स्ड फण्ड दुवैले लाभांश दर घटाएका हुन्।
ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्ड बन्दमुखी योजना हुन् भने डाइनामिक डेब्ट फण्ड भने खुलामुखी योजना हो।
जसमध्ये ग्रोथ फण्डको आकार ८३ करोड ५२ लाख रुपैयाँ छ। ब्यालेन्सड फण्डको आकार ७५ करोड ५० लाख रुपैयाँ हो। डाइनामिक डेब्ट फण्डको कोष आकार ४९ करोड ४४ लाख रुपैयाँ छ।
तीनवटै योजनाले लाभांशको बुक क्लोजका लागि कात्तिक १५ गतेको दिन तय गरेका छन्। जस अनुसार कात्तिक १४ गतेका दिनसम्म कायम इकाईधनी मात्र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।
पछिल्लो तथ्यांक अनुसार डाइनामिक डेब्ट फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य(न्याभ) १०.७५ रुपैयाँ छ। ग्रोथ फण्डको १०.६५ रुपैयाँ र ब्यालेन्सड फण्डको १०.१५ रुपैयाँ छ।


