
तनहुँ। पिजन हिल रिसोर्ट एण्ड फन पार्कले तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ संचालनमा ल्याउने भएको छ।
रिसोर्टले १ करोड २५ लाख रुपैयाँको लागतमा कात्तिक महिनाभित्रै निर्माण सकेर यी साहसिक खेल पनि संचालनमा ल्याउने तयारीमा रहेको संचालक विवेक सापकोटाले बताए।
सन् २०१२ सञ्चालनमा आएको रिसोर्टले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको छ।
‘मादी नदी वारपार गर्ने गरी ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौं। जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ,’ उनले भने,‘९० फिट हाइटमा एक सय मिटरको स्काइरोप साइक्लिङको परीक्षण भइरहेको छ।’
उनका अनुसार जिपलाइनका लागि १५ सय र स्काई रोप साइक्लिङ (दुईतर्फी) का लागि एक हजार रुपैयाँ शुल्क लिइने छ।
रिसोर्ट दमौलीबाट पाँच किमि उत्तर परेवाडाँडामा अवस्थित छ। १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको चार रोपनीमा संरचनाहरू बनेका छन्। रिसोर्टले आउँदो दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचना विस्तारको योजना रहेको उनले जानकारी दिए।
रिसोर्टले यसअघि जायन्ट स्विङ समेत सञ्चालनमा ल्याइसकेको छ। दुई वर्ष अगाडिदेखि नै आएको स्विङमा ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्ने उनले जानकारी दिए।