ब्रोकर लाइसेन्सको सिफारिस माग्दै ४५ कम्पनीले दिए निवेदन, ६० करोडको ३ वटा, डेढ अर्बको एउटा



बिजमाण्डू
२०७९ असोज ३१ गते १७:०३ | Oct 17, 2022


ब्रोकर लाइसेन्सको सिफारिस माग्दै ४५ कम्पनीले दिए निवेदन, ६० करोडको ३ वटा, डेढ अर्बको एउटा


काठमाडौं। ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन नेप्सेमा सिफारिस माग्दै ४५ वटा कम्पनीले निवेदन दिएका छन्। 

Tata
Global Ime

हालसम्म ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनीले सिफारिसको इच्छा जाहेर गर्दै आवेदन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। उनका अनुसार अधिकतम २० करोड रुपैयाँ चुक्ता पुँजीको ब्रोकर लाइसेन्स सेवा लाइसेन्सका लागि सिफारिस मागेका छन्। 

'६० करोड रुपैयाँको फुल ब्रोकर लाइसेन्स माग्दै ३ वटा कम्पनी र एउटा कम्पनीबाट स्टक डिलरका लागि सिफारिस माग भएको छ,' पराजुलीले भने। धितोपत्र बोर्डले एक्सचेन्जको सिफारिसपछि मात्र ब्रोकर लाइसेन्सको अनुमति दिने भएपछि सिफारिस माग्न कम्पनीहरुले नेप्सेमा निवेदन दिएका हुन्।

फ्रि एन्ट्री फ्रि एक्जिट प्रणाली लागू गरिने भएपछि यसपटक बैंकका सहायक कम्पनीहरुले पनि नयाँ मापदण्ड अनुरुप आवेदन दिने तयारी गरेका छन्। जसका लागि यसअघि स्थापित कतिपय बैंकका सहायक कम्पनीले पुँजी वृद्धि गरी नेप्सेसँग सिफारिस मागेका हुन्। 

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गतेदेखि आवेदन माग गरेको थियो। बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप ब्रोकर कम्पनीकालाई दर्खास्त माग गरेको थियो।

संसोधित नियमावली अनुसार ब्रोकर कम्पनीहरुलाई बोर्डले तीन तहमा विभाजन गरेर चुक्ता पुँजीको सिलिङ पनि सोहीअनुरुप तय गरेको छ। जसमध्ये सीमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्यलाई ६० करोड रुपैयाँ र स्टक डिलरलाई डेढ अर्ब रुपैयाँ निर्धारण भएको छ।

नयाँ व्यवस्था अनुसार नियमावली लागु भएको पहिलो वर्ष आवेदन माग गरेपछि आउँदो तीन वर्षसम्म बोर्डले ब्रोकर लाइसेन्सको अनुमति नमाग्ने प्रावधान छ।