
काठमाडौं। स्टार्टअपमा आधारित व्यवसायीहरुका लागि आफ्नो उत्पादन र सेवा चिनाउनुका साथै ग्राहकमाझ परिचय विस्तार गर्न बाँकेमा विशेष कार्यक्रम गरिने भएको छ।
नेपालमा स्टार्टअप इकोसिस्टम तथा उद्यमशीलता विकासमा काम गरिरहेको संस्था अन्तरप्रेरणाले आगामी शुक्रबार (कात्तिक ४ गते) नेपालगन्जमा नवउद्यमी हाटबजार आयोजना गर्ने भएको हो।
नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा आयोजना हुने कार्यक्रम दिउँसो १२ बजेदेखि ४ घन्टा सम्म संचालन हुनेछ।
यो हाटबजारमा बाँकेको नेपालगन्ज र कोहलपुरका १३ नवउद्यमीहरूको सहभागिताको टुंगो लागेको छ। उनीहरुले आफ्ना उत्पादन तथा सेवाहरू (मिनिमल भाइबल प्रोडक्ट) प्रदर्शनी गर्नेछन्।
यी सबै नवउद्यमीहरूको उत्पादनहरू नव उद्यमशाला नेपालगन्जको दोस्रो समूह अन्तर्गत इन्क्युबेट भइरहेका छन्। बिजनेस इन्क्युबेसन कार्यक्रम तीन महिनासम्म संचालन हुनेछ।
गत वर्षदेखि नेपालगन्ज उपमहानगरपालिका कार्यालय, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज, जर्मन एजेन्सी फर इन्टरनेसनल कोअपरेसन (जीआइजेड)को सहकार्यमा अन्तरप्रेरणाले सो कार्यक्रममा सञ्चालन गरिरहेको छ।
नव उद्यमी हाटबजार पनि यसै कार्यक्रमको एउटा महत्त्वपूर्ण हिस्सा भएको अन्तरप्रेरणाका असिम श्रेष्ठ बताउँछन्। ‘यो कार्यक्रमको मुख्य उद्देश्य भनेको समान बिक्रीसँगै नव उद्यमीहरूलाई आफ्नो उत्पादनहरू ग्राहकहरू समक्ष परीक्षण गर्ने अवसर प्रदान गर्नु पनि हो,' उनले भने, 'उहाँहरू ग्राहकहरूसँग प्रतक्ष कुराकानी गर्न सक्नुहुन्छ, साथै फीडब्याक पनि लिन सक्नु हुन्छ।’
यसबाहेक पनि सहभागी नव उद्यमीहरूले ग्राहकसँग कसरी सौदाबाजी गर्ने, सम्बन्ध बनाउने आदि सिक्नुका साथै आफूलाई सुधार्ने मौका मिल्नेमा असिम विश्वस्त छन्। साथै यस कार्यक्रमले लगानीकर्ताहरू समक्ष उद्यमीहरूले आफ्नो उत्पादन तथा सेवाहरूको बारेमा बुझाउन अवसर पनि प्रदान गर्ने आयोजक बताउँछन्।
सहभागी १३ नव उद्यमीहरूमा सूचना प्रविधि, कानुनी सेवा प्रदान गर्ने फर्म, विवाह तथा पास्नीको सेटहरूमा एमब्रोइड्री गर्ने, थाकलको ब्याग, ह्याट, पुष्प व्यवसायी, लोकल हवाई चपल उत्पादन गर्ने, कृषि तथा हस्तकलाको सामानहरू, डेरी उत्पादन, लोकल अचारहरू बनाउने लगायतका विविध उत्पादन तथा सेवाहरू छन्।
हाटबजारमा नव उद्यमीहरूसँगै करिब १५ स्थानीय व्यवसायीहरूको पनि स्टल रहनेछ। साथै स्थानीय तह तथा अरू संघसस्थाहरूको पनि सहभागिता रहने आयोजकले जनाएका छन्। दुई सय हाराहारी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा आयोजकको छ।