
काठमाडौं। आईएमइ लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीलाई पुँजी वृद्धिका लागि आ-आफ्नो भागमा परेको अंकअनुसार शतप्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।
इन्स्योरेन्सको चुक्ता पुँजी हाल एक अर्ब ४० करोड रुपैयाँ कायम छ। यस चुक्ता पुँजीको १०० प्रतिशत रकम पुनः लगानीकर्ताले थप्दा चुक्ता पुँजीको आकार २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।
गत असोज २६ मा भएको कम्पनीको साधारणसभाले पुँजी वृद्धि गर्ने निर्णय अनुमोदन गरेको थियो। सभाले नियामक बमोजिम कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने र आधारभूत सेयरधनीबाटै शत प्रतिशत रकम उठाउने विशेष प्रस्ताव पारित गरेको थियो।
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैतसम्म चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ। समितिको निर्देशन अनुसार पुँजी पुर्याउन आईएमइ लाइफलाई २५७ प्रतिशत अधिक पुँजीको खाँचो छ।
शतप्रतिशत रकम संस्थापकहरुबाट उठाएपछि पनि इन्स्योरेन्सले थप २ अर्ब २० करोड रुपैयाँ पुँजीको जोहो गर्न आवश्यक देखिन्छ। जसको प्रमुख समाधान आइपीओ जारी गर्ने र मर्जरमा जाने हो। हालसम्म कम्पनीले कुनै पनि प्राथमिक सेयर निष्कासन भने गरेको छैन।
इन्स्योरेन्सले सेयरधनीहरुलाई मंसिर ५ सम्म कम्पनीको बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरेको छ।