
काठमाडौं। सिग्नेचर पुलको निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको छ। चितवनलाई नवलपरासीको गैंडाकोट जोड्न नारायणी नदीमा निर्माण गरिने पुलका लागि बुधबार सडक विभागले ठेक्का आह्वान गरेको छ।
यो पुल मुलुकका लागि नौलो प्रविधि तथा डिजाइन हुने प्राविधिकहरुले बताएका छन्। सिग्नेचर ब्रिज १ अर्ब ४७ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो। नारायणी नदीमा आकर्षक तथा कलात्मक पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ।
यो पुल ५०० मिटर लामो हुनेछ। सरकारले यसलाई केही वर्ष अघिदेखि पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी अनुसार यसको निर्माण कार्य सुरु गरिएको विभागको भनाइ छ। यसभन्दा अघि भरतपुर र गैंडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर पुल बनाउन डिजाइनको काम भइरहेको थियो।
सिग्नेचर पुल निर्माणमा विश्व बैंकको ४ अर्ब सहयोग लगानी रहने छ। २०७५ मा नै सरकारले उक्त सहयोगको सम्झौता गरेको थियो। पहिलो चरणमा ४ वटा सिग्नेचर पुल निर्माणका लागि विश्व बैंकले ४ अर्ब लगानी गर्ने सम्झौता भएको हो। सोही अनुसार यो नारायणीमा निर्माण हुने सिग्नेचर पुल पहिलो हो।
हाल बुटवलको तिनाउ, सर्लाही र रौतहट जोड्ने वाग्मती तथा दमौलीमा सिग्नेचर पुल बनाउन डिजाइन भइरहेको छ।
सडक विभागको वैदेशिक महाशाखाले विभिन्न २० वटा स्थानमा यस्ता पुल निर्माणका लागि प्रस्ताव गरेको छ। त्यसका लागि करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। यसका लागि लगानीको स्रोतहरु खोजिदै छ।
कस्तो हुन्छ सिग्नेचर पुल ?
यस्ता पुलहरु सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयाँ प्रविधिबाट निर्माण हुने पुल विभागले जनाएको छ। झट्ट देख्दा नेटवर्क आर्क ब्रिज जस्तै देखिने भए पनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुन्छ।
पुल चार लेनको बनाउने योजना रहेको पुल महाशाखाले जनाएको छ। प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने विभागले जनाएको छ।
पुलहरुमा रातको समयमा लाइट जोड्न सकिन्छ जसले सहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरुका लागि आकर्षणको केन्द्र हुनेछ।
सडक विभागका अनुसार यस्ता पुलहरुले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ। युरोपका धेरै देशहरुमा यस्ता पुलहरु बनेको र त्यहाँ लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो।