टाटाको नेक्सन र टिगोर इभीको आपूर्ति समस्या हट्यो, हरेक महिना २०० गाडी नेपाल आउने



बिजमाण्डू
२०७९ कात्तिक २ गते १८:२० | Oct 19, 2022


टाटाको नेक्सन र टिगोर इभीको आपूर्ति समस्या हट्यो, हरेक महिना २०० गाडी नेपाल आउने


काठमाडौं। टाटाले नेपालमा बिक्री गर्दै आएको विद्युतीय गाडी नेक्सन र टिगोर इभीको आपूर्तिमा समस्या नरहेको स्पष्ट पारेको छ।

Tata
Global Ime

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेड्रिङले ग्राहकहरुले नेक्सन र टिगोर इभी खरिद गर्न लामो समय पर्खिनु नपर्ने जनाएको छ। यसका लागि उत्पादक कम्पनीले नेपालमा हालसम्म १२ सयभन्दा धेरै बुकिङ भएका नेक्सन र टिगोर इभीको आपूर्तिमा समस्या नहुने दाबी गरेको छ।

सिप्रदीले सबैभन्दा मन पराइएको नेक्सन र टिगोर इभीको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको जनाएको छ। कम्पनीका अनुसार टाटाको विद्युतीय गाडीको माग आन्तरिक तथा बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ।

यसलाई ध्यानमा राख्दै कम्पनीले तीन चरणमा आफ्नो पोर्टफोलियो विस्तार गर्ने घोषणा गरेको छ। नेपाली बजारको मागलाई प्रभावकारी रुपमा पूर्ति गर्न कम्पनीले पछिल्लो समय हरेक महिना २०० वटा भन्दा बढी  विद्युतीय गाडीको आपूर्ति गरिरहेको छ। आपूर्ति वृद्धि हुँदा बुकिङ गरेर बसेका ग्राहकहरुले धेरै समयसम्म प्रतीक्षा अबदेखि गर्नु नपर्ने कम्पनीको दाबी छ। 

यसैगरी टाटाले फोर्ड इन्डिया प्रालिको सनन्द प्लान्ट किनेर विद्युतीय गाडी उत्पादन थालेको छ। उक्त प्लान्टबाट हरेक वर्ष ४ लाख २० हजार युनिट विद्युतीय गाडी उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। 

यसैगरी टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गरिरहेको छ।

टाटाले नेपालमा नेक्सन र टिगोर इभीको एक वर्ष सफलताका साथ पूरा गरिसकेको छ। सिप्रदीले नेपालभरी १९ वटा फास्ट चार्जिङ र १०० भन्दा धेरै एसी चार्जिङ निर्माण गरेर सञ्चालनमा ल्याएको छ। यस्तै ४० वटा भन्दा धेरै इभी डेडिकेटेड सर्भिस सेन्टरहरु पनि सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।