उत्पादन लागत बढ्दा होङ्सी शिवमको कारोबार ४१ करोडले घट्यो, १७ अर्ब रुपैयाँमा सीमित भयो व्यापार



२०७९ कात्तिक २ गते १९:४६ | Oct 19, 2022


उत्पादन लागत बढ्दा होङ्सी शिवमको कारोबार ४१ करोडले घट्यो, १७ अर्ब रुपैयाँमा सीमित भयो व्यापार


काठमाडौं। होङ्सी शिवम् सिमेन्टको कारोबार २०२१/२२ मा झिनो संख्यामा घटेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार होङ्सीले २०२१/२२ मा १७ अर्ब ४ करोड ५० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।   

Tata
Global Ime

एउटै सिमेन्ट कम्पनीले वार्षिक १७ अर्ब माथिको कारोबार गर्नु सिमेन्ट उद्योगकै पहिलो भएको इक्रा नेपालले रेटिङ विवरणमा उल्लेख गरेको छ। २०२१/२२ मा कम्पनीले गरेको कुल कारोबारको ४७ प्रतिशत क्लिंकर सेग्मेन्टबाट आर्जन गरेको छ। भोलुमका हिसाबले क्लिंकर सेग्मेन्टको योगदान ५६ प्रतिशत छ। 

कोइलाको बढ्दो मूल्य, पेट्रोलियम पदार्थमा भएको भारी वृद्धि र तरलता अभावका कारण २०२१/२२ मा कम्पनीको वित्तीय अवस्थामा धक्का पुगेको छ। जसका कारण झिनो मात्रामा कम्पनीको कारोबार घटेको छ।

२०२१ मा कम्पनीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले २०२० मा १३ अर्ब ३७ करोड १० लाख र २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। 

होङ्सी शिवमसँग वार्षिक २० लाख टन क्लिंकर र २३ लाख टन ग्राइन्डिङ उत्पादन गर्ने क्षमता छ। होङ्सीको प्लान्ट नेपालकै सबैभन्दा ठूलो इन्टिग्रेटेड ग्रीनफिल्ड सिमेन्ट प्लान्ट हो। 

होङ्सी शिवममा हङकङ रेड लायन सिमेन्ट नं ३ लिमिटेडको ७० प्रतिशत र शिवम् होल्डिङ प्रालिको ३० प्रतिशत सेयर स्वामित्व छ। हङकङ रेड लायनले चीनमा ५० वटा ठूलो क्षमताको सिमेन्ट कम्पनी सञ्चालन गरिरहेको छ। लाओस, इन्डोनेसिया र म्यानमारमा कम्पनीले सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ। होङ्सी शिवमले नेपालमा  होङ्सी ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट बिक्री गर्छ। होङ्सीले २०१८ मार्चबाट ग्राइन्डिङ र २०१८ मेबाट क्लिंकर युनिट सञ्चालनमा ल्याएको थियो। 

होङ्सी शिवम् सिमेन्टले ६ अर्ब ५० करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। साढे ६ अर्ब रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल ए प्लस रेटिङ पाएको छ।