काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकको अनुदार नीतिका कारण अधिकांश व्यापार व्यवसायमा ७० प्रतिशतसम्म गिरावट आएको बताएका छन्।
आर्थिक पत्रकारका बीच अध्यक्ष गोल्छाले बाँकी व्यवसाय संकुचनमा जाँदै गर्दा बैंकिङ क्षेत्र भने प्रभावित नभएको विश्लेषण सुनाए। बैंकिङ क्षेत्र बलियो बन्दा समग्र अर्थतन्त्रमा स्थायित्व आउने भएतापनि एक्लै बैंकिङ क्षेत्रको ग्राफ माथि जानु अस्वभाविक देखिएको उनले टिप्पणी गरे।
विशेषगरी निर्माण उद्योग अस्वभाविक रुपमा सुस्ताएको भन्दै उनले 'मदर इन्डष्ट्री' नै चलायमान हुन नसक्दा प्राय सबै व्यवसायलाई असर पर्ने बताए।। यस बाहेक रेडिमेड गार्मेन्ट र जुत्ता उद्योगमा ७० प्रतिशतसम्म गिरावट आएको उनले जानकारी दिए।
अटोमोटिभ र इलेक्ट्रोनिक वस्तुको व्यवसायमा पनि अस्वभाविक कमी आएको अध्यक्ष गोल्छाले बताए। 'यसले गर्दा निर्जीवन बीमाको पनि ब्यवसाय घट्ने नै भयो, यसपाली त जीवन बीमाको समेत घटेको छ,' उनले भने, 'जुन आश्चर्यजनक हो।'


