व्यापार नबढ्ने देखिएपछि पोहोर कमाएजति पैसा बाँड्न हच्किए कम्पनी, सेयर बजार सेलायो



२०७९ कात्तिक ३ गते ०९:०४ | Oct 20, 2022


व्यापार नबढ्ने देखिएपछि पोहोर कमाएजति पैसा बाँड्न हच्किए कम्पनी, सेयर बजार सेलायो


काठमाडौ। अधिकांश कम्पनीहरुले पहिलेभन्दा लाभांश घटाएका छन्। उनीहरुको कारोबार पोहोरभन्दा सुध्रिए पनि नाफा बाँड्न भने कन्जुस्याइ गरेका छन्। त्यसले गर्दा सेयर बजारले पनि रातो प्रतिक्रिया दिइरहेको छ। 

Tata
Global Ime

कम्पनीहरुको नाफामा सुधार हुँदासमेत लाभांशमा कन्जुस्याई गर्दा लगानीकर्ता सेयर बजारसँगै रुष्ठ देखिन्छ। त्यही भएर कारोबार रकममा समेत गिरावट देखिइरहेको छ। 

बैंकहरुले त प्रक्षेपितभन्दा उच्च  नाफा आर्जन गरेका छन्। तैपनि बैंकहरुले लाभांश राम्रो दिइरहेका छैनन्।

तरलता संकट र बढ्दो ब्याज दरले नगद प्रवाह नहुँदा राष्ट्र बैंकले समेत जोखिम व्यवस्थापनमा कडाइ गर्न खोजेको छ। यसले गर्दा चालु वर्ष व्यापार हुन सकेको छैन।

त्यसो हुँदा गत वर्षको सबै नाफा अहिले बाँड्दा अर्को वर्ष रित्तो हुने अवस्था आउँछ। त्यही भएर पनि बैंक तथा वित्तीय संस्थाले पोहोरको सबै नाफा बाँड्न नचाहेका हुन्।

'प्रोभिजनिङमा राष्ट्र बैंक कठोर रुपमा प्रस्तुत भएको छ। मन्दीबीच खराब कर्जा बढ्दा राम्रो संकेत पनि दिँदैन,' मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले भने, 'अन्य व्यवसायीहरुले पनि मन्दिलाई विशेष ध्यान दिँदै नाफा अहिले नै सञ्चित गर्न थालेका छन्।'

यसै दौरान बैंकहरुको पुँजी कोष कमजोर बन्दै गएको छ। नियामकीय प्रावधान हाराहारी नै सबैको पुँजी कोष अनुपात आएको छ। यसले गर्दा उनीहरुको लाभांश दिने क्षमतामा पनि कमी आएको हो।

राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार, बैंकहरुले पुँजीकोष ११ प्रतिशत र प्राथमिक पुँजीकोष घटिमा पनि साढे ८ प्रतिशत हुनुपर्छ। ११ प्रतिशत पुँजीकोष पुर्‍याउन प्राथमिक पुँजीकोष र पूरक पुँजी आवश्यक पर्छ।

पुँजीकोष तोकिएकोभन्दा धेरै भएको अवस्थामा न्युनतम पुँजीकोषको अनुपात कायम राख्दै बैंकहरुले बाँकी ऋण दिन सक्छन्। न्युनतम पुँजीकोष कायम नभए राष्ट्र बैंकले त्यस्ता वित्तीय संस्थालाई लाभांश बाँड्न रोक लगाउँछ। पुँजी कोषलाई माथि लैजान बैंकहरुले सञ्चिति मुनाफा बढाउनु पर्ने भएको छ।

राष्ट्र बैंकले यसपटकको मौद्रिक नीतिबाट आगामी आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर पनि लागु गर्ने जनाएको छ। जसअनुसार बैंकले कायम गर्नुपर्ने ११ प्रतिशत पुँजी कोषको आकार बढेर १३.५ प्रतिशत पुग्नेछ। केन्द्रीय बैंकले हालको पुँजीकोषमा २.५ काउन्टर साइक्लिकल बफर थपेको हो।

यो व्यवस्था लागू भएलगत्तै तरलता संकट र सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) को दबाबमा रहेका बैंकहरुको कर्जा बिस्तारमा थप ह्रास आउने देखिन्छ। पुँजीकोषबाटै भएपनि थोरै कर्जा बढाउने अवस्थामा पुगेका बैंकहरुको लाभांशमा थप संकुचन हुने सम्भावना छ। राष्ट्रियस्तरका विकास बैंकको पुँजीकोष पनि नियामकले तोकेको सीमा नजिक छ।

लाभांश दर (बोनस सेयरसमेत) र हकप्रद सेयर रोकिएका कारण बैंकहरुको पुँजी कोष कमजोर बन्दै गएको हो। मर्जरकै कारण धेरैको चुक्ता पुँजी अस्वभाविक रुपले पनि बढेको छ।

ओभरक्यापिटाइजेसन (प्रतिफलका हिसाबले चाहिनेभन्दा अलिक बढी नै पुँजी) को डरले गर्दा पनि बोनस सेयरको विकल्पमा थोरै भए पनि नगद लाभांश दिने बैंकहरुको उदेश्य हो। राष्ट्र बैंकले नगद लाभांशमा लगाएको क्याप चालु आवको मौद्रिक नीतिबाट हटाएपछि बैंकहरु नगद लाभांश दिन थालेका छन्।

तर क्यासफ्लो नै बढाउन राष्ट्र बैंकको निर्देशन पछि वित्तीय संस्था क्यास डिभिडेन्टमा बल दिएको अनुभवीहरुको बुझाइ छ। 

यता सेयर बजार बढ्दा हौसिएर लाभांश बढाएका म्युचुअल फन्डहरु पनि अहिले सेलाएका छन्। बजार घट्दा उनीहरुको लगानी पनि घट्न थालेको छ। पोहोर असारको तुलनामा सञ्चालनमा रहेका म्युचुअल फन्डहरुको सेयर लगानी २० प्रतिशतले ह्रास आएको छ। सेयर बजार नै चिसिएपछि कतिय योजनाको नाफा पनि नोक्सानीमा परिणत हुन थालेको हो।

एसेटको भ्यालु (सम्पतिको मूल्य) ह्वात्तै घटेपछि म्युचुअल फन्डहरुको प्रति इकाइ खुद सम्पत्तिको मूल्य (न्याभ) पनि पार भ्यालुभन्दा तल झरेको हो। कोर बिजनेश (वास्तविक व्यवसाय) मा भारी गिरावट छाएपछि उनीहरुको लगानी मुद्दति निक्षेप तर्फ केन्द्रित भएको छ। बैंकहरुले संस्थागत निक्षेपकर्तालाई पनि १०.१३३ प्रतिशत ब्याजदर अफर गरेका छन्। गत आर्थिक वर्षको अवधिमा योजनाहरुले निश्चित लगानीका विकल्पमा ११ प्रतिशत इन्भेष्टमेन्ट बढाएका हुन्।

यता विश्वव्यापी रुपमा बढेको मुद्रास्फिती र इन्धन मूल्यका बाबजुद उत्पादन तथा प्रशोधन अन्तर्गतका कम्पनीको नाफा उत्साहजनक देखिन्छ। लागत नै बढेतापनि वृद्धिदर उल्लेख्य छ। सिमेन्ट कम्पनीहरुको व्यवसाय भने सेलाएको हो।

घरजग्गाको कारोबार ठप्प हुन थालेपछि निर्माण सामग्रीको उपभोग ह्वात्तै घटेको हो। सरकारले विकासका परियोजनामा पनि त्यति खर्च गर्न सकेको छैन। यसै दौरान अन्तर्राष्ट्रिय बजारमा कोइला र पेट्रोलियम पदार्थको मूल्य आकासिएपछि उत्पादन लागत धेरै हुन थालेको हो। यसले  सिमेन्ट कम्पनीहरुको नाफामा प्रत्यक्ष प्रभाव पारेको छ।

बीमा कम्पनीहरु पनि पुँजी वृद्धिको दबाबमा छन्। चैतसम्म जीवन बीमाले ५ अर्ब र निर्जीवन बीमाले साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ। यसकारण बीमा कम्पनीहरु मर्जरमा जाने ग्राफ पनि स्वात्तै माथि गएको छ। चुक्तापुँजी जगेडा र सञ्चित नाफाबाट पुर्‍याउन खोज्दा कतिपय बीमा कम्पनीले लाभांश नै नदिने निर्णय पनि गरिसके। जसले दिएका छन् उनीहरुको पनि अघिल्लो वर्षभन्दा कम छ।

विशेषगरी अर्थतन्त्र र मुद्रास्फिति दर यही क्रममा बढ्ने त्रासमा कम्पनीहरुले नाफा बाँड्नभन्दा सञ्चित गर्न केन्द्रित भएको सेयर बजार अनुभवीहरुको बुझाइ छ। 'अहिले नाफा बाढेर मात्र भएन। मन्दिले अझै भयाभह स्थिति लिने डर छ। व्यवसायीहरु कहिल्यै यस्तो आर्थिक संकुचन नभोगेको भन्छन्,' बजारका एक अनुभवीले भने,'वित्तीय संस्था होइन अब म्यानुफ्याक्चरिङ कम्पनीको प्रतिफल पनि केही समय सेलाउँछ। मागलाई कस्ने हो भने ट्रेडिङ र लगानीको प्रतिफल घट्ने पक्का हो।'

यद्दपि होटल व्यवसायीले यसपटक राम्रो सुधार गरेका छन्। कोभिडले शिथिल होटल व्यवसाय कोरोनाको प्रकोप कम भएलगत्तै चलायमान भएको छ। पर्यटकीय गतिविधि पनि सुधार हुँदा नोक्सानीलाई अधिकांशले राम्रो नाफामा परिणत गरेको उनले बताए। अरुभन्दा यस क्षेत्रबाट प्रतिफलको आशा रहेको उनले जनाए।

कम्पनी सेक्टर बोनस सेयर नगद कुल आर्थिक वर्ष अघिल्लो आवको प्रतिफल
सिटिजन्स बैंक वाणिज्य बैंक २०७८/७९ १६
कुमारी बैंक वाणिज्य बैंक १२.५ १२.५ २०७८/७९ ८.६७
एनसीसी बैंक वाणिज्य बैंक ३.३७ ७.६३ ११ २०७८/७९ ८.४२
रुरु जलविद्युत परियोजना जलविद्युत १० ०.५२६३ १०.५२६३ २०७८/७९ १०.५२६३
अरुण काबेली पावर जलविद्युत १० १० २०७८/७९ १७.८९
सानिमा माइ हाइड्रोपावर जलविद्युत ५.२६३२ ५.२६३२ २०७८/७९ १०.५२६३
नेपाल पुर्वाधार बैंक लगानी ४.२१०५ ४.२१०५ २०७८/७९ ८.४२
नेपाल पुनर्बीमा कम्पनी अन्य ०.२६३२ ५.२६३२ २०७७/७८ १९
नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा १५.७८९५ १५.७८९५ २०७७/७८ १४.७३६८
नेशनल लाइफ इन्स्योरेन्स जीवन बीमा १५ ०.७८९ १५.७८९ २०७७/७८ २०
एशियन लाइफ इन्स्योरेन्स जीवन बीमा १४.५ ०.७६ १५.७६ २०७७/७८ २७
गुँरास लाइफ इन्स्योरेन्स जीवन बीमा ७.४ ०.३९ ७.८३ २०७७/७८ ५.७९
बोटलर्स नेपाल बालाजु उत्पादन तथा प्रसोधन २० २० २०७८/७९ २०
बोटलर्स नेपाल तराइ उत्पादन तथा प्रसोधन ६० ६० २०७८/७९ ४०
नेपाल ल्यूब आयल उत्पादन तथा प्रसोधन २५ ३० २०७८/७९ ३५
सानिमा इक्विटि फण्ड म्युचुअल फन्ड २२ २२ २०७८/७९ ३३
सनराइज फस्ट म्युचुअल फण्ड म्युचुअल फन्ड १२ १२ २०७८/७९ ५०
एनआइबिएल सहभागिता फण्ड म्युचुअल फन्ड ७.२ ७.२ २०७८/७९ ५०
एनआइबिएल प्रगति फण्ड म्युचुअल फन्ड ४.२ ४.२ २०७८/७९ ५०
सिद्धार्थ इक्विटि फण्ड म्युचुअल फन्ड २०७८/७९ ३०
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम -२ म्युचुअल फन्ड १० १० २०७८/७९ ३०
एनएमबी ५० म्युचुअल फन्ड २१.०५२६ २१.०५२६ २०७८/७९ ३०
एनएमबी हाइब्रिड फण्ड एल-१ म्युचुअल फन्ड २१.०५२६ २१.०५२६ २०७८/७९ २०
लक्ष्मी इक्विटि फण्ड म्युचुअल फन्ड २०७८/७९ ३५
लक्ष्मी उन्नती कोष म्युचुअल फन्ड २०७८/७९ २५
नबिल इक्विटि फण्ड म्युचुअल फन्ड २०७८/७९ ४०
नबिल ब्यालेन्ड् फण्ड-२ म्युचुअल फन्ड २०७८/७९ ३५
एनआईसी एशीया डाइनामिक डेब्ट फण्ड म्युचुअल फन्ड २०७८/७९  
एनआईसी एशीया ग्रोथ फण्ड म्युचुअल फन्ड १३ १३ २०७८/७९ ३०
एनआईसी एशीया ब्यालेन्स्ड फण्ड म्युचुअल फन्ड १३ १३ २०७८/७९ ३०