
काठमाडौं। नबिल बैंकले नबिल फोनलोनको न्युनतम सीमा र डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ। यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २ लाख रुपैयाँ पुर्याइएको बैंकले जनाएको छ। यसका अतिरिक्त फोनलोन लिने योग्य समूहको दायरा पनि बढाइएको छ।
नबिल बैंक फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो। नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुने बैंकले जनाएको छ। यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यो सुविधा उपलब्ध थियो।
यस्तै, नबिल बैंकले फोनलोनको अफरहरुलाई पनि अपग्रेड गरेको छ। फोनलोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्ने बैंकले जनाएको छ। बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने स्पष्ट पारेको छ।
ग्राहकहरूले वस्तु वा सेवा खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्ने बताइएको छ। खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पे लेटर’ को विकल्प रोज्न सक्ने बैंकले जनाएको छ।
बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूलाई एपबाटै अग्रिम भुक्तानी गर्न मिल्ने विकल्प छ। यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने बताइएको छ।
‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ। यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले भने, ‘हामी यो प्रडक्टको प्रभावकारिता, ग्राहकको मागप्रति पनि विश्वस्त छौं, यहीकारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो।’