काठमाडौं। रेमिटेन्स आयमा थोरै सुधारका बाबजुद आयातमा केही वृद्धि हुँदा विदेशी मुद्राको सञ्चिति भदौमा पनि घटेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक बर्षको भदौसम्मको आर्थिक सूचकहरु सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति (रुपैयाँमा) ८ अर्ब ६९ करोड रुपैयाँले घटेको छ। यद्यपि सञ्चिति घट्ने क्रम केही सुस्त भएको छ।
डलरमा पनि विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोडमा झरेको छ। जबकी यो ९ अर्ब ५४ करोड थियो।
साउनमा १७.९५ अर्बले घटेको सञ्चिति भदौमा ८ अर्ब ६९ करोडले घटेको हो। शोधनान्तर घाटामा रहे पनि भदौमा फराकिलो अन्तर भने छैन।
साउनमा २२ अर्ब ६३ करोड घाटामा रहेको शोधनान्तर भदौमा २३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। जबकी गत आर्थिक वर्ष शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ पुगेको थियो। पोहोर भदौमै पनि शोधनान्तर ८३ अर्ब ४१ करोड रुपैंयाँ घाटामा थियो।
विवरण (रु. अर्बमा) | २०७९ भदौ | २०७९ साउन |
शोधनान्तर बचत (घाटा) | -23.68 | -22.63 |
चालु खाता बचत (घाटा) | -37.18 | -16.26 |
वैदेशिक मुद्रा सञ्चिति | 1189.16 | 1197.85 |
आयात | 273.6 | 131.29 |
ब्यापार घाटा | 244.92 | 116.48 |
रेमिटेन्स | 187.04 | 92.21 |
मासिक रेमिटेन्स | 94.83 | 92.21 |
मासिक आयात | 142.31 | 131.29 |
मासिक घटेको सञ्चिति | -8.69 | -17.95 |
चालु खाता घाटा दोस्रो महिना नै दोब्बरले ऋणात्मक भएको छ। साउनमा १६ अर्ब २६ करोडको घाटामा भदौमा ३७ अर्ब १८ करोड घाटामा पुगेको छ।
साउनको तुलनामा आयात बढेको छ। साउनको तुलनामा भदौमा ११ अर्ब २ करोड बढिले आयात भएको छ। भदौ एक महिनामा मात्र १४२ अर्ब ३१ करोडले आयात बढेको छ। यही आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेको हो।
जबकी विदेशमा काम गर्ने नेपालीले साउनको तुलनामा भदौमा २ अर्ब ६२ करोड रेमिटेन्स पठाएका छन्। भदौमा मात्र ९४ अर्ब ८३ करोड रेमिटेन्स पठाएका हुन्।
पोहोर भदौमा ७९ अर्ब ४१ करोड रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्समा भएको सुधारका बाबजुद आयात बढ्दा सञ्चितिमा दबाब कायमै रहेको हो।
जबकी सरकारले भदौ मध्यसम्म १० वस्तुको आयातमा प्रतिबन्ध थियो। त्यसपछि पनि ४ वस्तुको आयातमा प्रतिबन्ध कायमै छ। बढी आयात हुने गाडी, मोटरसाइकल लगायतको आयातमा कडाइका बाबजुद पनि आयातको ग्राफ उक्लिएको छ। यही कारण शोधनान्तर अवस्थामा सुधार नभएको हो।