रानीमहल नियाल्दै र्‍याफ्टिङ सरर, तानसेनबाट सडक सहज, घुमघाममा पुग्छन् प्रेमिल जोडी



बिजमाण्डू
२०७९ कात्तिक ५ गते १०:२८ | Oct 22, 2022


रानीमहल नियाल्दै र्‍याफ्टिङ सरर, तानसेनबाट सडक सहज, घुमघाममा पुग्छन् प्रेमिल जोडी


तानसेन (पाल्पा)। नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन। पहिलो पटक रानीमहल आएका उनले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए।

Tata
Global Ime

'पहिला त निकै डर लागेको थियो, पछि आनन्द भयो,' उनले भने, 'प्रकृतिसँग रमाउन रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ।' पाल्पा सदरमुकाम तानसेनबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल चट्टानमा अवस्थित छ।

यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन्। रानीमहलमा दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन्। जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन्।

स्याङ्जा विर्घाकी नितिसा पाण्डेले चार पटक रानीमहल पुगे पनि साहसिक जलयात्रा भने गरेकी थिइनन्। 'मेरो घर नजिकै भएर पनि यहाँ र्‍याफ्टिङ सुविधा छ भन्ने थाहा थिएन,' उनले भनिन्। चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनले बताइन।

तेजकुमारी एडभेन्चर प्रालिले रानीमहलदेखि रीडी (रुरु धाम) सम्म र्‍याफ्टिङ सञ्चालन गरेको छ। रानीमहल सेरोफेरो एक किलोमिटरमा पाँच सय र रुरुधामसम्म दुई हजार रुपैयाँ शुल्क लिएर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउँछन्। जलयात्राका लागि दुईवटा बोट छन्। कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था छ। 'र्‍याफ्टिङ भनेपछि पर्यटक डराउँछन्,' उनले भने, 'सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ।'

प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको दृश्य हेर्न पर्यटक आउँछन्। प्रेम गर्ने जोडीहरु धेरै यहाँ आउँछन्। यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगर, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन्।

बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ।

अग्ला पहाडको खोँचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ। उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ। जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्दथ्यो।

पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ। पाल्पाको तानसेनमा प्याराग्लाइडिङ र रिब्दीकोट-४ भैरवस्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन हुँदै आएका छन्। रासस