काठमाडौं। मर्जरमा जाने विशेष प्रस्ताव सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १४औं वार्षिक साधारण सभा आब्हान गरेको छ। कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले कात्तिक २८ गतेका लागि सभा आह्वान गरेको हो।
सभा होटल ह्यारिसन प्यालेस विराटनगरमा बिहान ९ बजेबाट संचालन हुनेछ। सभामा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिने छ।
यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने जीवन बीमा कम्पनीको नाम' सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनी' कायम गरी एकीकृत कारोबार हुनेछ। सूर्याको १ कित्ता बराबर ज्योति लाइफको ०.८२४५ कित्ता कायम गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुनेछ।
कम्पनीले असार १३ गते नै सेयर दाखिला खारेज तोकेकाले सो मिति सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउँछन्।
हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ५५ करोड र ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ छ।
मर्जरपछि संयुक्त कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९७ करोड पुग्नेछ। बीमा समितिको निर्देशन अनुसार आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ।


