वीरगंज भन्सारले मात्रै ४० प्रतिशत राजस्व उठाउँछ, पाँच कार्यालय जसले करोड पनि उठाउँदैनन्



२०७९ कात्तिक ११ गते १०:४४ | Oct 28, 2022


वीरगंज भन्सारले मात्रै ४० प्रतिशत राजस्व उठाउँछ, पाँच कार्यालय जसले करोड पनि उठाउँदैनन्


काठमाडौं। भन्सार महसुल संकलनमा वीरगंज भन्सार कार्यालय सबैभन्दा अघि देखिएको छ। गतवर्ष संकलन भएको महसुलका आधारमा भन्सार असुलीको लक्ष्यमा वीरगंज एक्लैको योगदान ४०.३१ प्रतिशत देखिएको छ।

Tata
Global Ime

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान वीरगंज भन्सारको देखिएको हो।

वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ। यो नाकाबाट गाडी, मोटरसाइकल, पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ पदार्थ लगायत आयात हुन्छ।

दोस्रो धेरै महसुल संकलन गर्नेमा भैरहवा भन्सार कार्यालय २२.८८ प्रतिशत छ। गत वर्ष सो कार्यालयले १ खर्ब १५ अर्ब राजस्व संकलन गरेको छ। वीरगंज भन्सार कार्यालयमा २०६६ सालमा पहिलो पटक जोखिममा आधारित भन्सार जाँचपास प्रणाली अपनाउँदै आएको छ। जसमा हरियो, पहेलो र रातो क्षेत्रमा वर्गीकरण गरी सामाग्री जाँचपास गर्ने गरिन्छ।

यस्तै तेस्रो धेरै संकलन गर्नेमा वीरगंजको सुक्खा बन्दरगाह कार्यालयको ९.७६ प्रतिशत छ। यो कार्यालयले ४९ अर्ब ३४ करोड महसुल संकलन गरेको छ।

चौथो धेरै राजस्व संकलन गर्नेमा विराटनगर भन्सार छ। उक्त कार्यालयले गत वर्ष ४० अर्ब महसुल संकलन गरेको छ। त्रिभुवन विमानस्थल कार्यालयले २३ अर्ब ४३ करोड महसुल संकलन गरेको छ।

यसैगरी नेपालगंज भन्सार कार्यालयले २२ अर्ब ४२ करोड, मेची भन्सारले १७ अर्ब ८० करोड असुली गर्दा कैलाली भन्सार कार्यालयले ९ अर्ब ३० करोड उठाएको छ।

रसुवा भन्सार कार्यालयले ७ अर्ब १७ करोड राजस्व संकलन गरेको छ। कृष्णनगर भन्सार कार्यालयले ५ अर्ब ४३ करोड राजस्व संकलन गरेको छ। यस्तै चिनियाँ पक्षको असहयोगबीच ३ अर्ब ४२ करोड राजस्व संकलन गरेको छ। अन्य भन्सार कार्यालयले २.७ प्रतिशत मात्रै महसुल उठाएका छन्।

पाँच कार्यालय जसले करोड पनि उठाउँदैन

विभाग अन्तर्गतका ५ भन्सार कार्यालयले एक करोड पनि राजस्व संकलन भएको छैन। त्रिवेणी भन्सार कार्यालयले गतवर्ष कुनै राजस्व संकलन गरेको छैन।

यस्तै महाकाली भन्सार कार्यालयले २३ लाख ६१ हजार मात्र कर संकलन गरेको छ। यसैगरी दार्चुला भन्सार कार्यालयले २६ लाख २३ हजार महसुल संकलन गरेको छ। यस्तै कोइलीबास भन्सार कार्यालयले ३१ लाख २९ हजार महसुल संकलन गरेको छ। यसैगरी पशुपतिनगर भन्सार कार्यालयले ८७ लाख ९८ हजार महसुल उठाएको छ।

गतवर्ष विभाग अन्तर्गतको कार्यालयले कुल ५ खर्ब ६ अर्ब राजस्व संकलन गरेको छ। जसमा सबैभन्दा धेरै हिस्सा भन्सार महसुलको ४४ प्रतिशत छ। मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा ४१ प्रतिशत, अन्त:शुल्क शीर्षकमा १२ सड निर्माणमा ३ प्रतिशत राजस्व उठेको छ।

कुन शीर्षकमा कति उठ्यो राजस्व

भन्सार कार्यालयले कुल आठ शीर्षकमा भन्सार महसुल उठाउने गर्छ। आयात भन्सार महसुल शीर्षकमा १ खर्ब ८७ अर्ब असुल भएको छ। गतवर्ष कृषि सुधार शुल्क ८ अर्ब ८८ करोड असुल भएको छ।

प्रतिलिटर पेट्रोल र डिजेलबाट १० रुपैयाँ उठाउँदा २४ अर्ब ४४ करोड राजस्व संकलन भएको छ। सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सुरुमा प्रतिलिटर ५ रुपैयाँ उठाएको थियो। यसलाई पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ५ रुपैयाँ वृद्धि गरी १० पुर्‍याएका थिए।

सरकारले पूर्वाधार विकास भनेर रकम असुल गरेपनि सो रकम छुट्टै राखेको छैन। पूर्वाधार विकासमा उठ्ने रकम सिधैं राज्य कोषमा जम्मा हुने भएकाले जुनसुकै क्षेत्रमा खर्च भैरहेको छ।

यस्तै सडक मर्मत तथा सुधार शुल्क ६ अर्ब ४० करोड महसुल संकलन भएको छ। यस्तै सडक निर्माण तथा सम्भार दस्तुर १० अर्ब ९७ करोड संकलन भएको छ। भन्सार महसुल शीर्षकमा २ खर्ब २४ अर्ब संकलन भएको छ।