जगदुल्ला हाइड्रोको परामर्शदाता छनोटलाई फेरि ठेक्का, सुरुवातमा तीनवटा पनि कम्पनी परेनन् छनोटमा



बिजमाण्डू
२०७९ कात्तिक १३ गते १२:३२ | Oct 30, 2022


जगदुल्ला हाइड्रोको परामर्शदाता छनोटलाई फेरि ठेक्का, सुरुवातमा तीनवटा पनि कम्पनी परेनन् छनोटमा


काठमाडौं। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले परामर्शदाता नियुक्त गर्न निकालेको बोलपत्र रद्द गरेर पुन:आह्‍वान गरेको छ। 

Tata
Global Ime

यसअघि कम्पनीले आह्‍वान गरेको बोलपत्रमा आवेदन दिएका ८ कम्पनीमध्ये ३ वटा पनि प्राविधिक प्रस्ताव मूल्यांकनमा पास नभएपछि ठेक्का रद्द गरिएको हो। कम्पनीका कार्यकारी निर्देशक प्रकाश अधिकारीले धेरै कम्पनीबीच प्रतिस्पर्धा गराउन पुन: बोलपत्र आह्‍वान गराउनु परेको बताए।  

उनका अनुसार सुरुवातको मूल्यांकनका क्रममा सीमित कम्पनीबीच प्रतिस्पर्धा हुने भएपछि तुरुन्तै बोर्ड बैठक बोलाएर ठेक्का रद्द गरिएको हो।

कम्पनीले साउन तेस्रो साता आशयपत्र जारी गर्दै परामर्शदाताका लागि बोलपत्र आह्‍वान गरेको थियो। योग्यता पुग्ने इच्छुक कम्पनीले  सेप्टेम्बर १४ (भदौ २९ गते) सम्म आवेदन दिन सक्नेगरी निकालिएको बोलपत्र कात्तिक ४ मा रद्द गरिएको थियो।  कात्तिक ६ गते आइतबार परामर्शदाताका लागि पुन: बोलपत्र आह्‍वान गरिएको छ। मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। 

आयोजनामा परामर्शदाताले ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरभिजन, आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर)को रिभ्यु र स्वीकृति, बिडिङमा सहयोग गर्छ। ठुला ठेक्कामा अनिवार्य रुपमा प्राविधिक सहायताका लागि परामर्शदाता राख्नु पर्छ। 

त्यसैगरी कम्पनीले हेडवर्क्सनजिकै अफिस भवन निर्माणका लागि निकालेको ठेक्का मूल्यांकन अन्तिम चरणमा पुर्‍याएको छ। बोलपत्रमा आवेदन दिएकामध्येबाट ४ वटा कम्पनी सर्टलिष्टमा परेका छन्। 

शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालि, क्याराभान-बंगलामुखी जेभी, ओम बुद्ध इन्जिनियरिङ प्रालि र शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि सर्टलिष्टमा परेका हुन्। अब यी मध्येबाट एउटा कम्पनी छनोट हुनेछ। १०६ मेगावाटको अर्धजलाशययुक्त यो आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने जगदुल्ला नदी प्रस्ताव गरिएको छ।

विद्युत विकास विभागबाट २०७४ मा सर्वे लाइसेन्स लिएर आयोजना अध्ययनका लागि काम  अघि बढाइएको हो।  सुरुमा ३०७ मेगावाटको सर्वे लाइसेन्स लिएर अध्ययन थालिएको थियो। तर कमजोर भूगोलका कारण आयोजना १०६ मेगावाटमा निर्माण गर्दा उपयुक्त हुने निष्कर्ष निकालियो।

आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) नभएका कारण फाइनान्सियल क्लोजर हुन भने बाकी छ। कम्पनीले १६ अर्ब रुपैयाँ ऋण र ७.१ अर्ब इक्विटीबाट जुटाउनेछ। कम्पनीले पीपीएका लागि प्राधिकरणमा आवेदन दिइसकेको छ।

अहिले एक्सेस रोड लगायत पूर्व तयारीका काम भइरहेको छ। एक वर्षमा  पूर्व तयारीका सबै काम सकेर निर्माणको काम सुरु गर्ने योजना छ। योजना अनुसार काम हुने हो भने निर्माण थालेको चार वर्षमा विद्युत उत्पादन हुनेछ।