नेपाली युवा उद्यमी मञ्चद्वारा स्टार्टअप अवार्डका लागि शीर्ष १५ छनोट, अब प्रतिष्पर्धा



बिजमाण्डू
२०७९ कात्तिक १४ गते १४:४० | Oct 31, 2022


काठमाडौं। नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले स्टार्टअप अवार्डको २०२२ संस्करणका लागि शीर्ष १५ स्टार्टअपहरू चयन गरेको छ।

Tata
Global Ime

गत अगष्टमा अवार्डका लागि निवेदन आह्वान गरेको उक्त संस्थाले १ सय ५६ स्टार्टअपहरूबाट १५ वटालाई छनोट गरेको हो। 

टेक, गेमिङ, कृषि लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका स्टार्टअपहरू उक्त अवार्डको लागि छनोट भएका छन्। सारङ, एग्रो रेन्ज नेपाल, बाइट केयर टेक्नोलोजी, वी सेल कटन क्यान्डी, च्याउ डट बायो, स्कील सेवा, जेरो सरकुलर, चिम्पभाइन, बगभी सफ्टवेयर, क्युरा हेल्थ, पोसिलो फुड्स, डार्क म्याटर प्रोडक्सन, ल्यान्समे अप, डेलिस डेरिज र दियो एआइलगायतका स्टार्टअप छनोटमा परेका हुन्। 

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले  यो कार्यक्रममार्फत् उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्ने साथै नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टरसिप र लगानीको अवसर प्रदान गर्नेछ। 

एनवाइइएफले आफ्नो सदस्य भएको, सरकारले तोकेको कार्यालयमा दर्ता भएको, तथा पाँच वर्षभन्दा कम समयदेखि बजारमा रहेका स्टार्टअपहरू चयन गरेको हो।

छनोट भएका स्टार्टअपहरूले लगानी भित्र्याउनका लागि मेन्टरसिप र तालिम प्राप्त गर्नेछन्। साथै आफ्नो सीपलाई तिखार्नु साथै नोभेम्बर ११ मा हुने एनवाइइएफ स्टार्टअप अवार्ड्स २०२२ मा प्रतिस्पर्धाका लागि तयारी गर्न एक्स्पर्ट सेसनहरू पनि प्राप्त गर्नेछन्। 

प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने संस्थाले जनाएको छ। उत्कृष्ट स्टार्टअप कम्पनीले १ लाख ५० हजार, दोस्रोले ७५ हजार र पिपुल्स च्वाइसले ५० हजार नगद पाउनेछन्।