तिहारपछिको पहिलो कारोबार दिनमा नेप्से १६ अंकले बढ्यो, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण



बिजमाण्डू
२०७९ कात्तिक १४ गते १५:१७ | Oct 31, 2022


तिहारपछिको पहिलो कारोबार दिनमा नेप्से १६ अंकले बढ्यो, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण


काठमाडौं। सोमबार सेयर बजार हरियाली भएर बन्द भएको छ। तिहार तथा छठको बिदा पछि कारोबार खुलेको पहिलो दिन बजार दोहोरो अंकले बढेर बन्द भएको छ।

Tata
Global Ime

आज नेप्से १६.३९ अंकले बढ्दा परिसूचक १८७४.८७ विन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ पनि ४.९३ अंकले बढेको छ।

सेयर बजार विश्लेषकहरुका अनुसार चाडबाड पछि खुल्ने पहिलो कारोबार सामान्यता सकारात्मक हुने भएकाले यो वृद्धिले निरन्तरता पाउने नपाउने भने निश्चित नभएको बताउँछन्।

तर बैंकहरुले धमाधम साधारण सभा, लाभांश वितरण तथा बुक क्लोजको मिति सार्वजनिक गरिरहँदा बैंकहरुको सेयर माग र कारोबार दुवै उच्च छ। पछिल्लो समय बजारमा उच्च कारोबार हुने कम्पनीहरुमा अधिकांश बैंक छन्। वाणिज्य बैंक उपसमूह आज सर्वाधिक १.५२ प्रतिशतले बढेको छ।

कारोबारका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा छ। बैंकको ६ करोडमाथि कारोबार भएको छ। यस्तै एभरेष्ट बैंकको ४ करोड, नबिल बैंकको ३ करोड ८० लाख र प्रभु बैंकको २ करोडभन्दा बढी कारोबार भएको छ।

यस्तै, केही दिनअघि आइपीओ जारी गरेर दोस्रो बजारमा सूचीकृत भएको सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले १० प्रतिशत मुनाफा हात पारेका छन्।

साथै यसबाहेक सेयर मूल्य बढ्नेमा प्राय बैंकहरु नै छन्। नेपाल एसबीआइ बैंकको सेयर मूल्य ८.२४ प्रतिशतले बढेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ७ प्रतिशत, एनआइसी एसियाको ६.८० प्रतिशत, एभरेष्ट बैंकको ५.५७ प्रतिशत र प्रभु बैंकको करिब ५ प्रतिशत सेयर मूल्य बढेको छ।

दिनभरको अवधिमा २२४ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ।