प्रदेश १ मा आर्थिक पार्श्वचित्र निर्माणको काम अघि बढ्यो, तीन महिनामा सक्ने



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १२:४१ | Nov 3, 2022


विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको आर्थिक पार्श्वचित्र निर्माणका लागि तयारी अघि बढाएको छ ।

Tata
Global Ime

महासंघले तीन महिनाभित्र पार्श्वचित्र निर्माण गरिसक्ने लक्ष्यका साथ तयारी अघि बढाएको जनाएको छ। यसैका लागि महासंघ प्रदेश १ ले २० जना अध्ययन सहायकलाई अनुशिक्षण कार्यक्रम समेत गरेको छ।   

उक्त कार्यक्रममा महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीले प्रदेश भरीको आर्थिक क्षेत्र अन्तर्गतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पार्श्वचित्र तयार पारिने  जानकारी दिए ।

कार्यकारी निर्देशक भण्डारीले प्रविधिको प्रयोग गरेर प्रदेश १ का १४ वटै जिल्लाका उद्योगवाणिज्य संघमार्फत जिल्लाको आर्थिक क्षेत्रसँग सम्बन्धित सम्पूर्ण विवरण आगामी पुस महिनाभित्र संकलन गरिने र बाँकी समयभित्र प्रकाशनको तयारीको काम गरिने उल्लेख गरे ।

अनुशिक्षण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने सही तथ्यांक नभएकै कारण मुलुकको आर्थिक विकास हुन नसकेको धारणा राखे।

डा. बोहराले आर्थिक क्षेत्रलाई गतिशील बनाउन सही तथ्यांक आवश्यक भएकाले महासंघले पाश्र्वचित्र निर्माणको काम अघि बढाएको जानकारी दिए ।

बोहराले पार्श्वचित्र बनेपछि स्थानीय र बाह्य क्षेत्रका लगानीकर्तालाई प्रदेश १ मा नयाँ लगानी भित्र्याउन र लगानी थप्न सजिलो हुने विश्वास व्यक्त गरे ।

महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य तथा प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले महासंघको पहल र समन्वयमा विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गरेर उत्कृष्ट आर्थिक पार्श्वचित्र तयार गर्ने योजना अघि बढाएको स्पष्ट पारे ।

उपाध्यक्ष राउतले सही तथ्यांक र जानकारी प्राप्त भएपछि आर्थिक विकासका लागि नयाँनयाँ अवसर सिर्जना हुने बताए।

अर्थशास्त्री डा. अर्जुन बरालले पाश्र्वचित्रका माध्यमबाट कृषि क्षेत्रका सम्भावनाको पहिचान गर्ने, उत्पादन र उद्योगको प्रवर्द्धन गर्ने र सेवा क्षेत्रअन्तर्गत पर्यटन विकासको सम्भावना पहिल्याउने काममा ठूलो उपलब्धि थपिने दाबी गरे।

महासंघले कम्युनिटी इन्गेजमेन्टस् एन्ड आउटरिच प्रालिको प्राविधिक सहयोगमा पार्श्वचित्र निर्माण गर्न लागेको हो।