नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बढ्दो बजारमा लाग्यो ब्रेक, कारोबार रकम पनि ओरालो लाग्यो



बिजमाण्डू
२०७९ कात्तिक १७ गते १५:१४ | Nov 3, 2022


नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बढ्दो बजारमा लाग्यो ब्रेक, कारोबार रकम पनि ओरालो लाग्यो


काठमाडौं। चाडबाड बिदापछि लगातार बढिरहेको सेयर बजारमा बिहीबार भने ब्रेक लागेको छ। फराकिलो अंकको वृद्धिलाई ब्रेक लगाउँदै साताको अन्तिम कारोबार सेयर बजार घटेको छ।

Tata
Global Ime

सोमबारदेखि बुधबारसम्म ७९.८१ अंकले बढेको नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ। घटिरहेको सेयर बजारप्रति लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसक्दा सामान्य नाफा बुक गरेर बजारबाट उम्किन खोज्ने लगानीकर्ता हाबी हुँदा बढिरहेको ट्रेन्डमा ब्रेक लागेको देखिन्छ।

आज सूचक ओरालो लागेपछि कारोबार रकम पनि ८९ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ। बुधबार १ अर्ब ४६ करोड रुपैयाँ माथिको कारोबार भएको थियो। जानकारहरुका अनुसार लगानीकर्ताहरुमा सूचक बढेमात्र लगानी बढाउने नभए लगानी रोक्ने रणनीति छ। 

आज नेप्से परीसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ पनि ३.५० अंकले घटेको हो। बिहीबार जीवन तथा निर्जीवन बीमा उपसमूहबाहेक सबैजसो उपसमूह राताम्मे बनेका छन्।

यस्तै गत आर्थिक वर्षको नाफाबाट राम्रो मुनाफा वितरण गर्ने हल्लाले एभरेष्ट बैंकको सेयर किनबेच आज पनि उच्च छ। बैंकको ४ करोड बढीको सेयर कारोबार भएको हो।

पछिल्लो पाँच वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गरेको युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य पनि आज सर्वाधिक बढेको छ। कम्पनीको एक कित्ता सेयरको मूल्य १२०० रुपैयाँ (६.५६%) सम्म बढेको हो। कम्पनीको ३८० कित्ता सेयर किनबेच भएको हो। १८ हजार ६६६ रुपैयाँबाट सुरु भएको कम्पनीको अन्तिम कारोबार १९ हजार ५०० रुपैयाँ पुगेर बन्द भएको छ।