काठमाडौं। काठमाडौंमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएको छ। लिभिङ विथ आइसीटीको आयोजनामा हुन लागेको कार्यक्रममा सातै प्रदेशबाट छनोट भएका साथै इन्फो डेभलपर्स आइसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ।
यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुने बताइएको छ।
बानेश्वर बैंक्वेटमा दुई दिनसम्म चल्ने उक्त फेस्टमा १०० वटा भन्दा बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन्। फेस्ट अवलोकनका लागि प्रवेश निःशुल्क छ।
स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए। यस कार्यक्रमले स्टर्टाअप र इन्नोभेसनमा लगानी गर्दै प्राथमिकतामा राखेर काम गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने आयोजकको अपेक्षा छ।
फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई÷भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएका छन्। स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्ज मेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन्। दुई दिनसम्म सञ्चालन हुने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
सन् २०१६ बाट सुरू भएको आइसीटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिने छ। यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो। १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोटको काम गरिरहेको छ।
बुधबार मात्रै आइसीटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न भएको छ।
सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्टबाट छनोट भएका ४० भन्दा बढी उत्कृष्ट स्टार्टअप तथा आईडियाहरूका लागि समेत ३ दिने बुटक्याम्प सञ्चालन भएको छ। आइसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ८ गते काठमाडौंमा हुँदैछ।