कृषि औजार कारखानाका अधिकांश मेसिन ठिक रहेको प्राविधिकको भनाइ, एक वर्ष भित्रै चलाउन सकिने



बिजमाण्डू
२०७९ कात्तिक १८ गते ०९:४२ | Nov 4, 2022


कृषि औजार कारखानाका अधिकांश मेसिन ठिक रहेको प्राविधिकको भनाइ, एक वर्ष भित्रै चलाउन सकिने


वीरगंज। वीरगंजको कृषि औजार कारखाना सञ्चालन हुने संकेत देखिएको छ । नेपाल सरकारले पछिल्लो समयमा सो कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएपछि टोलीले तीन दिनदेखि काम शुरू गरिरहेको हो।  

Tata
Global Ime

केन्द्रका प्रमुख डा महावीर पुनलगायत १० जनाको टोलीले बन्द रहेको कृषि औजार कारखाना सञ्चालनको लागि पहल थालेका हुन्। कृषि औजार कारखाना सञ्चालनको लागि पहिलोचोटि यसरी प्राविधिक टोली खटिएको हो ।

टोलीमा सिभिल, इलेक्ट्रिकल तथा मेकानिकलतर्फका प्राविधिकहरू खटिएर काम सुरु गरेका हुन्। पहिलो चरणमा कारखानाको सरसफाइ र पुराना मेशिनहरूको अवस्थाबारे अध्ययन भइरहेको केन्द्रका प्रमुख डा पुनले बताए ।

सरकारले सञ्चालन मितिदेखि १० वर्षको लागि सो केन्द्रलाई जिम्मा दिएपछि कामको सुरुआत भएको हो । यसअघिका सरकारले कृषि औजार कारखाना र वीरगंज चिनी कारखाना सञ्चालन गर्ने भनेपनि संचालनको पहल भएको थिएन। 

कारखानामा ८० प्रतिशत मेशिनको अवस्था ठीक रहेको प्राविधिक टोलीको दाबी छ । नेपाल सरकारले चाहेमा आगामी एक वर्षमा कारखाना सञ्चालनमा ल्याउन सकिने प्राविधिक टोलीले बताए ।

तीन दशकअघि कृषि औजार कारखाना बन्द भएको हो । कारखानाका मेशिनहरूको अवस्था खासै खराब नभएको र सरकारले चाहेको खण्डमा सञ्चालन हुन सक्ने पूर्वकर्मचारीहरूको पनि भनाइ छ ।

सरकारी इच्छाशक्तिको अभावमा कारखाना लामो समयसम्म बन्द रहेको उनीहरूको आरोप छ । २०२३ सालमा कारखाना सञ्चालनमा हुँदा नेपाल विद्युत् प्राधिकरण, हेटौंडा दुग्ध, सिमेन्ट कारखानालाई आवश्यक पर्ने सामग्रीदेखि किसानलाई चाहिने अधिकांश कृषि औजार उत्पादन हुँदै आएको थियो ।