ब्याज वृद्धिविरुद्ध महासंघ पदाधिकारी नै सडकमा, देशभरी आन्दोलन चर्काउने चेतावनी



बिजमाण्डू
२०७९ कात्तिक १८ गते १३:०० | Nov 4, 2022


ब्याज वृद्धिविरुद्ध महासंघ पदाधिकारी नै सडकमा, देशभरी आन्दोलन चर्काउने चेतावनी


काठमाडौं। अर्थतन्त्र मन्दीमा गइरहेका बेला राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंक ब्याज माथि पुर्‍याएपछि व्यवसायी आन्दोलित भएका छन्। वर्ष दिनमै ब्याज दर दोब्बर जतिले उक्लिएपछि धान्नै नसक्ने अवस्था आएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।

Tata
Global Ime

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा शुक्रबार व्यवसायिक संगठनका नेताहरुले मौन प्रदर्शन गरेका छन्। उनीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन्।

महासंघका उपाध्यक्षहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघई, दिनेश श्रेष्ठलगायत आन्दोलनमा सहभागी भएका थिए। ब्याज दर वृद्धिको विरोध गर्दै महासंघको उच्चपदस्थ अधिकारीहरु सार्वजनिकरूपमा प्रदर्शनमा उत्रिएको यो पहिलो पटक हो।

व्यापार व्यवसाय छाडेर व्यवसायीहरु पर्चा/पम्प्लेट बोकेर मौन धर्ना बसेका थिए। पर्चा र पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’ ‘ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर’ लेखिएको छ।

विरोध कार्यक्रममा न्युरोड, महाबौद्ध, होटल संघ लगायत विभिन्न संघहरुको सहभागिता थियो। 

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दरहरु बढाएको थियो। बैंकहरुको ब्याज माथि लैजान राष्ट्र बैंकले नीतिगत दरहरु चलाएको थियो। बैंकहरुले भद्र सहमतिमार्फत स्थिर राखेको ब्याज नीतिगत दर बढेपछि वृद्धि गरेका थिए। निक्षेपमा गरिएको वृद्धिले ऋणको ब्याज पनि महँगिएको छ।

आधार दर नै औसतमा १० प्रतिशत नाघेको छ। यसमा बैंकहरुले साढे ८ प्रतिशतसम्म प्रिमियम लिने घोषणा गरेका छन्। ब्याज अहिले साढे १८ प्रतिशतसम्म पुगेको छ। पोहोर ब्याज ८-१२ प्रतिशतको बीचमा चलेको थियो।

ब्यवसायीले ब्याजदर एकल दरमा ल्याउन माग गरेका छन्। अहिले माइतीघरबाहेक जिल्ला-जिल्लामा राष्ट्र बैंकविरुद्ध आन्दोलन सुरु भएको छ।

महासंघको जिल्ला तहबाट चर्को आन्दोलन सुरु भएपछि अध्यक्ष शेखर गोल्छा व्यवसायीको माग सम्बोधन गरिदिनका लागि गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न पुगेका थिए। अध्यक्ष गोल्छाले गर्भनर अधिकारीलाई बुँदागतरूपमा नै सुझाव पेस गरेका थिए।  

यस्तै महासंघका विभिन्न तहबाट पनि औपचारिक तथा अनौपचारिक रुपमा सुझाव तथा दबाब दिइरहेका छन्।

तर बैंकबाट कुनै निकास नआएपछि महासंघले राष्ट्र बैंकका विरुद्धमा आन्दोलनको कार्यक्रम सुरु गरेको हो। 

व्यवसायीहरुले व्यापार गर्ने भएकाले राष्ट्र बैंकविरुद्ध ढुंगामुडा  गर्न नसकिने महासंघ उपाध्यक्ष रामचन्द्र संघईले बताए। उनले भने ‘हामी व्यवसायी व्यापार गर्ने हौं, राष्ट्र बैंकविरुद्ध ढुंगामुडा गर्न सकिँदैन। त्यसैले मौन आन्दोलन गरेको हो।’

ब्याजदर वृद्धिले व्यवसायीहरुलाई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले बताए। उनले भने ‘अहिले मूल्यवृद्धि दर ८ प्रतिशतको हाराहारीमा छ, बैंक निक्षेपकर्तालाई ८ प्रतिशतभन्दा बढी ब्याज दिनु आवश्यक छैन, त्यसमा ३ प्रतिशत थप गरी व्यवसायीले ऋण प्राप्त गर्नु पर्दछ।’