१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट



बिजमाण्डू
२०७९ कात्तिक १८ गते २१:२७ | Nov 4, 2022


काठमाडौं। लिभिङ विथ आइसीटीको आयोजनामा राजधानीमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ।

Tata
Global Ime

इन्फो डेभलपर्स आइसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्री-इभेन्ट अभियानका रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा स्टार्टअप एण्ड आइडिया भएको हो।

दुईदिने फेस्टको पहिलो दिन शुक्रबार कार्यक्रम ड्रोनबाट पुष्पवृष्टि गर्दै सुरु भयो। लिभिङ विथ आइसिटीका संस्थापक तथा फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति थियो।

प्रमुख अतिथि अर्यालले इन्नोभेसन र प्रविधिको क्षेत्रमा नेपाल कमजोर नरहेको तर प्रोत्साहनको आवश्यकता रहेको बताए। स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न मन्त्रालय सधैं तयार रहेको पनि उनले सुनाए। 

सहभागीलाई स्वागत गर्दै संयोजक लम्सालले देशभरका युवाले विकास गरेका स्टार्टअप र इन्नोभेसन देखाउन तथा यसको इकोसिस्टम विकास गर्न फेस्ट आयोजना गरिएको बताए।   

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने फेस्टमा सातै प्रदेशबाट छनोट भएका स्टार्टअप र आईडियासँगै इन्फो डेभलपर्स आइसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० वटाभन्दा बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन्।

कार्यक्रममा आइसीटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ समेत भइरहेको छ। विद्युतीय भोटिङ मेसिनबाट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका उत्कृष्ट १२ मध्येबाट आफूलाई राम्रो लाग्ने कम्पनी, प्रडक्ट वा आइडियालाई भोट गर्न सकिने छ। फेस्टमा रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि विद्युतीय भोटिङ मेसिन राखेको छ।

यसका अतिरिक्त स्टिम क्याम्प पनि आयोजना भइरहेको छ। स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन्। निःशुल्क अवलोकन गर्न सकिने स्टार्टअप फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

पहिलो दिन नै स्टार्टअप एण्ड आईडिया फेस्टमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो। फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भइरहेका छन्। 

कार्यक्रमलाई इन्फो डेभलपर्स, नेपाल टेलिकम, जेनेस, हुवावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल बिजनेस स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, एनआइटीसी, नाष्ट, एफएनसीसीआई लगायतको पनि सहकार्य रहेको आयोजकले जनाएका छन्।