कोङ्देमा हिमालयन शेर्पा हस्पिटल, २० करोड लागत रहेको अस्पतालमा २४ घण्टे आकस्मिक सेवा



२०७९ कात्तिक २० गते ०९:४४ | Nov 6, 2022


कोङ्देमा हिमालयन शेर्पा हस्पिटल, २० करोड लागत रहेको अस्पतालमा २४ घण्टे आकस्मिक सेवा


काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा आइतबारदेखि २४ घण्टे आकस्मिक सेवासहितको सुविधा सम्पन्न अस्पताल 'हिमालयन शेर्पा हस्पिटल' संचालनमा आउने भएको छ। 

Tata
Global Ime

हिमालयन शेर्पा फाउन्डेसनले करिब २० करोड  रुपैयाँ लागतमा अस्पताल स्थापना गरेको हो। नवनिर्मित अस्पतालको राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उद्घाटन गर्दैछिन्। करिब १२ हजार स्थानीय र सगरमाथा क्षेत्रमा भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको उपचार गर्ने उद्देश्यले फाउन्डेसनले अस्पताल संचालनमा ल्याएको संस्थापक एवम पर्यटन व्यवसायी फुर्वा ग्याल्झेन शेर्पाले बताए। 

'यहाँबाट नजिक अस्पताल भनेको लुक्ला र नाम्चेमा छ। दुरीका हिसाबले लुक्ला करिब ४ घण्टा र नाम्चे ६ घण्टा टाढा छ। यो अभाव देखेर हस्पिटल स्थापना गरेका हौं,'  शेर्पाले भने, 'अल्टिच्युड सिकनेस भएका पर्यटकका लागि पनि उचाइको हिसाबले यहाँ उपयुक्त हुने भएका कारण यहाँ हस्पिटल स्थापना गरिएको हो।'

१५ शय्या क्षमताको अस्पतालमा आकस्मिक उपचार सेवा, ओपीडी, ल्याब, मेडिकल, माउन्ट्नेरिङ मेडिसिन, प्रसूति सेवा लगायतको सुविधा रहेको उनले जानकारी दिए। सन् २०१७ जुलाइमा शिलान्यास गरिएको यो अस्पताल कोभिड-१९ का कारण संचालनमा आउन ढिलाइ भएको हो।

अस्पताल स्थापनाका लागि जर्मन नागरिक डा. मथेस बाउमेनबाट फाउन्डेशनलाई ५ करोड रुपैयाँ सहयोग रहेको उनले बताए। करिब दुई करोड रुपैयाँ अन्य विदेशी सहयोग र करिब १२ करोड रुपैयाँ आफ्नै लगानी रहेको उनले जानकारी दिए। 

'विशेष गरी अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका विदेशी पर्यटकका लागि यो  हस्पिटल आवश्यक थियो। यात्राका क्रममा असहज हुँदा अधिकांश पर्यटक सकेसम्म यतै उपचार गरेर फेरि यात्रामा फर्कन चाहन्छन्,' त्यही हस्पिटलका चिकित्सक पासाङ छिरिङ शेर्पाले भने,'एक साता यता २२ जना विदेशी पर्यटकलाई उपचार गरिएको थियो। उनीहरु उपचारपछि पदयात्रामा गए।'