चुनावले सेयर बजारमा ४३ अंकको सुधार, नेप्से २ हजार विन्दु नजिक, कारोबार पनि बढ्न थाल्यो



बिजमाण्डू
२०७९ कात्तिक २० गते १५:१६ | Nov 6, 2022


चुनावले सेयर बजारमा ४३ अंकको सुधार, नेप्से २ हजार विन्दु नजिक, कारोबार पनि बढ्न थाल्यो


काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिदै गर्दा सेयर बजारले सकारात्मक लय समात्न थालेको छ। नेप्से अंकसँगै कारोबार बढेको छ।

Tata
Global Ime

लामो समय बजारको गिरावटबाट निरुत्साहित लगानीकर्तामा निर्वाचनले उत्साह फर्काएको ब्रोकर तथा सेयर बजार जानकारहरुको तर्क छ।चुनावबाहेक पहिलो त्रैमास तथा लाभांशको उत्साह पनि सेयर बजारमा देखिएको छ। अघिल्लो वर्षको लगानीको प्रतिफल आउने भएकाले लगानीकर्ता बजारमा फर्किन थालेका छन्।

"धेरै घटेको बजार चुनाव नजिकिदै गर्दा तरलता बढ्ने आशाले सकारात्मक भएको छ। धेरैपछि सेयर बजारले २००० बिन्दु नजिक पुग्दा लगानीकर्ता उत्साहित छन्,' ब्रोकर ईश्वरी प्रसाद रिमालले बिजमाण्डूसँग भने,'तर यो बजार दीर्घकालिन हो जस्तो लाग्दैन्। दीर्घकालिन रुपमा बजार बढ्न व्याजदर घट्नुपर्छ।'

तर उनले आइतबार बजार बढ्नुको कारण माइक्रोफाइनान्सले घोषणा गरेको लाभांस र वित्तीय विवरण रहेको बताए। 'आज जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस लाभांश घोषणा गर्‍यो। छिमेक लघुवित्तको वित्तीय विवरण पनि राम्रै आएको छ। साथै लाभांश वितरण नगरेका बैंक तथा हिमालयन डिष्ट्रीलरी जस्ता कम्पनीमा पनि खरीकर्ताहरु छन्,' उनले भने। आइतबार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ पनि ८.०९ अंकले बढेको हो।

आइतबार १ अर्ब ५४ करोड माथिको कारोबार भएको छ। जुन पछिल्लो २५ कारोबार दिन यताकै सर्वाधिक हो।कारोबारका आधारमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था अग्र स्थानमा छ। कम्पनीको १० करोड बढीको कारोबार भएको हो। कारोबारका अधारमा अग्र स्थानमा रहेको यस कम्पनीको सेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ।

साथै मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा पनि आइतबार सकारात्मक सर्किट लागेको हो।