काठमाडौं। सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन (डिडीए) प्रतिवेदनमा सेयर आदानप्रदान अनुपात निक्कै फरक परेपछि प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको मर्जर अन्योलमा परेको छ।
दुबै संस्थाले मंसिरभित्र मर्जर सक्ने भनेर गत साउन १५ गते सम्झौता गरेका थिए। डीडीए प्रतिवेदनमा खासै ठूलो अन्तर नआए बराबरी हैसियतमा गाभिने दुबै पक्षको सम्झौता थियो।
डीडीए प्रतिवेदन अनुसार, प्रभु बैंकको १०० रुपैयाँ हुँदा सेञ्चुरीको ७५ रुपैयाँ मात्र आएको छ। यति ठूलो अन्तर देखिएपछि मर्जरमा अन्योल भएको हो।
'सामान्य तलमाथि हुन्छ भन्ने हामी दुबै पक्षको अनुमान थियो' मर्जर समितिका एक सदस्यले भने, 'तर यति धेरै अन्तर आएपछि कसरी मिलाउने भन्ने सकस परेको छ।'
राष्ट्र बैंकले पनि डीडीएमा १० प्रतिशत तलमाथि गएर सेयर आदानप्रदान निर्धारण गर्न सकिने ब्यवस्था गरेको छ। तर फराकिलो अन्तर आएकाले यसलाई मिलाउन राष्ट्र बैंकसम्मै पुग्नु पर्ने अवस्था आएको दुबै बैंकका संचालक बताउँछन्।
दुबै बैंक मर्जरका लागि निक्कै काम अगाडि बढिसकेको थियो। दुबैले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पनि पाइसकेका थिए। यसबीचमा प्रभु बैंकले आफ्नो फिन्याकल प्रणालीमा पुमरी चलाइरहेका सेञ्चुरीका कर्मचारीलाई तालिम पनि दिइरहेका थिए।
दुबै बैंकका कर्मचारीका लागि भनेर संयुक्त तालिमहरु पनि आयोजना भइरहेको थियो।
मर्जरको प्रारम्भिक सम्झौता गर्दा नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका अशोक शेरचनले निरन्तरता पाउने र सेञ्चुरी बैंकका मनोज न्यौपानेलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बनाइने सहमति भएको थियो।
प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल मनोज न्यौपानेपछिको प्रोटोकलमा हुने भनिएको थियो। नयाँ बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट तीन र सेञ्चुरीबाट तीन जना जाने र स्वतन्त्र सञ्चालक साबिकको प्रभु बैंकले छान्नेसम्मको सहमति थियो।
अहिले प्रभु बैंकमा २३ सय कर्मचारी छन् भने सेञ्चुरीमा १२ सय कर्मचारी छन्। प्रभुको २१६ वटा शाखा छ भने सेञ्चुरीको १२६ वटा छ। दुवै बैंकबीच मंसिर मसान्तभित्र एकीकृत कारोबार गर्ने प्रारम्भिक सहमति भएको थियो।