बाबा खानेतेल बेच्ने कम्पनीको कारोबार ३८ प्रतिशतले बढ्यो, बिक्रीको ८०% हिस्सा भारत निर्यातबाट



बिजमाण्डू
२०७९ कात्तिक २० गते १६:३७ | Nov 6, 2022


बाबा खानेतेल बेच्ने कम्पनीको कारोबार ३८ प्रतिशतले बढ्यो, बिक्रीको ८०% हिस्सा भारत निर्यातबाट



काठमाडौं। खानेतेल बेच्ने बाबा भेजिटेबल इन्डस्ट्रिजको कारोबार ३८ प्रतिशतले बढेको छ। भारततर्फ खानेतेल निर्यातमा केन्द्रित यो कम्पनीले २०२१/२२ मा ७ अर्ब ५९ करोड २० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। 

Tata
Global Ime

बाबा तेल उद्योगले गत वर्ष २०२१ मा ५ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। २०२० मा कारोबार रकम ३ अर्ब ९ करोड ३० लाख रुपैयाँ थियो भने २०१९ मा दुई अर्ब १७ करोड १० लाख रूपैयाँ थियो।

मोरङमा प्रशोधन उद्योग रहेको बाबा तेल उद्योगसँग कुल ४५ हजार टन भटमास, पामोलिन, सूर्यमुखी र पाम आयल उत्पादन गर्ने क्षमता छ। उद्योगले सिद्ध बाबा ब्राण्डबाट स्वदेशी बजारमा तेल बिक्री गर्दै आएको छ। उद्योगले भारतमा समेत तेल निकासी गर्दै आएको छ। २०२२ मा उद्योगले कुल बिक्रीको ८० प्रतिशत निर्यातबाट आर्जन गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।

उद्योगले गर्ने कुल आम्दानीमा तेल निर्यातको हिस्सा नै अधिकांश रहेको देखिन्छ। उद्योगले २०२० मा दुई अर्ब १९ करोड ७० लाख रुपैयाँको तेल निर्यात गरेकोमा २०२१ मा बढाएर तीन अर्ब ९७ करोड १० लाख रुपैयाँ पुर्‍याएको थियो। 

भारतीय सीमाभन्दा १५ किलोमिटर वर बाबा तेलको उद्योग रहेकाले निकासीका लागि ढुवानी लागतमा यस उद्योगलाई प्रतिस्पर्धात्मक लाभ मिलेको छ। यसैका कारण उद्योगको आम्दानीमा यसको प्रत्यक्ष प्रभाव परेको बताइएको छ।

कम्पनीको वित्तीय जोखिम क्रमश: हट्दै गएको केयर रेटिङ्स नेपालले जनाएको छ। उद्योगको कुल संचालन नाफा, नाफाको मार्जिन, पुँजीको संरचनालगायतका सूचकमा सुधार आएकाले वित्तीय जोखिम हट्दै गएको बताइएको छ। उद्योगमा प्रकाशकुमार मुन्दडा र सुरेश कुमार राठीको लगानी छ।

कम्पनीले केयर रेटिङ्स नेपालबाट २ अर्ब ६ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एथ्री रेटिङ पुन:पुष्टि गराएको छ।