
काठमाडौं। भारतको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी हिरो मोटोकर्पले धेरै उत्पादनहरू पाइपलाइनमा रहेको बताएको छ। हाल लाइनअपमा रहेका ३०० सीसीभन्दा माथिको प्रिमियम बाइक निर्माण गरिरहेको कम्पनीले जनाएको छ।
यी मोडलहरू आगामी वर्षहरूमा लन्च हुनेछन्। साथै यसमा एडभेन्चरका लागि स्पोर्टी मोटरसाइकल पनि समावेश हुनेछन्। प्रिमियम सेगमेन्टका बाइकहरुको बजार विस्तार गर्नको लागि यो बाइकले हिरोलाई सहयोग गर्ने कम्पनीको भनाइ छ।
हिरोले अर्को वर्ष २०२४ को पहिलो आधासम्ममा दुई नयाँ मोडलका साथ ३०० सीसी सेग्मेन्टमा प्रवेश गर्ने योजना बनाएको छ। ब्रान्डले कम्पनीको नाफा बढाउन २०२४ बाट हरेक वर्ष प्रिमियम बाइक उत्पादन सुरु गर्ने अपेक्षा गरेको छ।
बजारमा आउने सम्भावित पहिलो मोटरसाइकल ३०० सीसी प्लस लिक्विड-कुल्ड इन्जिन भएको एडीभी हो। जसले केटीएम ३९० एडभेन्चर र बीएमडब्ल्यु जी ३१९ जीएससँग प्रतिस्पर्धा गर्ने कम्पनीको दाबी छ।
यस्तै दोस्रो मोडल भने हिरो एक्सट्रिम २००एसमा आधारित हुने कम्पनीले जनाएको छ। यसले टीभीएस अपाचे आरआर३१० र केटीएम आरसी३९० सँग प्रतिस्पर्धा गर्ने कम्पनीको भनाइ छ। यी दुवै बाइकहरू हालै लद्दाखमा परीक्षण गर्दा देखिएका थिए।
कम्पनीले आफ्नो सुपर-प्रिमियम बाइक निर्माणको लागि भारतमा हार्लेसँग संयुक्त उत्पादन प्लेटफर्मको विकासको पनि पुष्टि गरेको छ।
प्रिमियम मोटरसाइकलका सेग्मेन्टमा टीभीएस, बजाज, होन्डा र रोयल एनफिल्ड जस्ता प्रमुख प्रतिस्पर्धीहरूले बजारको हिस्सा धेरै ओगटेका छन्। प्रिमियम सेग्मेन्टको बजारमा योजनाबद्ध तवरले प्रतिष्पर्धामा उत्रन लागेको हिरोको यो पहिलो पटक हो।
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) को तथ्यांक अनुसार हाल समग्र मोटरसाइकल सेगमेन्टमा ४७ प्रतिशतको बजार हिस्सा रहेको हिरो मोटोकर्पको प्रिमियम सेगमेन्टमा ५-७ प्रतिशतको सेयर छ। जसमा ४७ हजार युनिट बिक्री भएको छ।