हालसम्मकै ठूलो टाइल्स उद्योग खोल्ने योजनाका साथ कजरिया सेरामिक्स नेपालमा, ४०० करोड लगानी!



बिजमाण्डू
२०७९ कात्तिक २१ गते ११:११ | Nov 7, 2022


काठमाडौं। भारतको टाइल्स कम्पनी कजरिया सेरामिक्सले नेपालमा हालसम्मकै ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने भएको छ।

Tata
Global Ime

नेपालको व्यापारिक समूह रमेश कर्प र कजरिया सेरामिक्स लिमिटेडबीच नेपालमा टाइल्स  उत्पादन कम्पनी स्थापना गर्ने सम्झौता भएको हो। सम्झौता अनुसार कम्पनीले नेपालमा ४०० करोड रुपैयाँको लगानीमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना हुनेछ।   

उक्त कम्पनीको वार्षिक उत्पादन क्षमता ८ लाख वर्गमिटर हुनेछ। यस सम्बन्धी औपचारिक सम्झौतापत्रमा रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजरिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजरियाले हस्ताक्षर गरे।

सम्झौता अनुसार उद्योगमा दुवै कम्पनीको लगानी आधा आधा हुनेछ। सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको लागि दुवै कम्पनीले ४०० करोड रुपैयाँ लगानी गर्ने बताइएको छ। उक्त कम्पनीको उत्पादन क्षमता ८ लाख वर्गमिटर हुने र सन् २०२३ को अन्त्यसम्ममा कम्पनी सञ्चालनमा आउने अपेक्षा गरिएको जानकारी दिइएको छ। नव निर्मित कारखाना भविष्यमा निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुन लागेको सम्झौतापत्रमा उल्लेख छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा कजरिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजरियाले भने- 'नेपाल हाम्रा लागि सधैं महत्त्वपूर्ण बजार भएको छ। हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौं र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ। यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ। हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौं।'

कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलानले यस उद्योगलाई ऐतिहासिक परियोजनाको रुपमा व्याख्या गरे। उनले भने 'यसले देशमा रोजगारी सृजना गर्न महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ। उत्पादित विश्वस्तरीय टाइल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ।'

यसैगरी रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले यस आयोजनाको सुरुवातले नेपाली अर्थतन्त्र थप बलियो बन्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सिर्जना हुने बताए।

टाइल्स उत्पादनमा नेपालमै उपलब्ध प्रमुख कच्चा पदार्थहरू प्रयोग गरिने उक्त कार्यक्रममा जानकारी दिइयो।

कजरिया सेरामिक्सलाई भारतमा सिरेमिक/भिट्रिफाइड टाइल्स को सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग मानिन्छ। यसको भारतमा आठवटा उत्पादन कम्पनी छन्, जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन् ।

३४ वर्ष पहिले स्थापना भएको कजरियाले सेरामिक वाल र फ्लोर टाइल्सहरूका तीन हजारभन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आइरहेको कम्पनीले जनाएको छ।