
काठमाडौं। पुँजी वृद्धिको लागि लुम्बिनी जनरलसँग मर्जरमा गएको सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी माघदेखि एकीकृत कारोबार गर्ने भएको छ।
गत असार ३० गते यी दुई निर्जीवन बीमा कम्पनीबीच मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको थियो। मर्जर सहमतिको ७ महिनामा एकीकृत कारोबार गर्ने तयारी गरिरहेको सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए।
'आगामी माघ २ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु गर्छौं,' उनले भने। हाल दुई कम्पनीको डीडीए (विस्तृत लेखापरीक्षण ) गरेर सकिएको छ। अब आन्तरिक छलफल लगायत बाँकी रहेको हुँदा कारोबार माघबाट गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले जानकारी दिए।
चुक्ता पुँजी साढे २ अर्ब पुर्याउन मर्जरको बाटो रोजेका कम्पनीहरुले स्वाप रेसियो खुलाएका छैनन्।
लेखापरीक्षण सकिएपछि स्वाप रेसियो, कम्पनीको नाम र प्रमुख कार्यकारी अधिकृतको निर्णय हुने कम्पनीले जनाएका थिए।
हाल लुम्बिनी सगरमाथा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड छ भने जनरलको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ छ। मर्जरपछि चुक्ता पुँजी २ अर्ब ६४ करोडभन्दा बढी पुग्नेछ। बीमा समितिले चालु आर्थिक वर्षको चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो।