फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघ्यो, दैनिक हुन्छ ४ अर्ब रुपैयाँ बढीको कारोबार



बिजमाण्डू
२०७९ कात्तिक २१ गते १७:२४ | Nov 7, 2022


फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघ्यो, दैनिक हुन्छ ४ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ। नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै धेरैको आकर्षण देखिएको छ। 

Tata
Global Ime

फोनपे नेटवर्क मार्फत अहिले दैनिक ४ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुँदै आएको छ। वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको कम्पनीले जनाएको छ। 

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्। गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर सहरका अधिकांश पसलमा देखिन थालेका छन्। ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन्। डिजिटल कारोबारमा आएको यो परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउने विश्वास कम्पनीको छ। 

‘हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौं, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौं। यसले नगदको प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीको बाटो अझ रफ्तारमा लगेको छ। यस समर्थनको लागि म सबै मर्चेन्ट, ग्राहक तथा बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिन चाहान्छु,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले भने। 

क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरु समेत उत्साहित देखिन थालेका छन्। 

‘सुरु सुरुमा त मलाई त्यति पत्यार लागेको थिएन, कसले पो तिर्ला भनेर? बैंकले नै भनेपछि मर्चेन्ट बने। आजभोलि मेरो पसलमा आउने धेरैले क्यूआर मार्फत भुक्तानी गर्नुहुन्छ। यसरी कारोबार भएकोमा म दंग छु। खुद्रा पैसाको झञ्जट नहुने र बैंकमा पनि जान नपर्ने रहेछ।  अहिले त मलाई धेरै सहज बनाएको छ यसले,’ काठमाडौं नरेफाँटका किराना व्यवसायी सम प्रसाद आपागाइँले भने।

यता आम प्रयोगकर्तालाई पनि यसले सहज बनाएको अनुभव ग्राहकहरुको छ। 

‘श्रीमानले हरेक महिना घर खर्चको लागि बैंकमा पैसा राखिदिनुहुन्छ, मलाई तरकारीदेखि फलफुल, मासु सबै किन्न पैसा बोक्न पनि परेन, खुद्रा भएन भन्न पनि परेन यसले निकै सजिलो बनाएको छ,’ भक्तपुकी गृहणी जमुना भट्टराईले अनुभव सुनाइन्।   

राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तिय संस्था आबद्ध छन्। एक करोड ७० लाख भन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ।