काठमाडौं। तमोर करिडोर आयोजना अन्तर्गत पर्ने चतरा-मुलघाट-सुभाङखोलासम्मको दोस्रो खण्डको कालोपत्रे गर्न १ अर्ब ४३ करोडमा ठेक्का लागेको छ। आयोजनाले साउन १८ गते ठेक्का आह्वान गरेको थियो।
१५ दिन अगाडि मात्रै पहिलो खण्डको पनि कालोपत्रे गर्न साढे २ अर्बमा ठेक्का लागेको थियो। उक्त ठेक्का रौता-क्षमादेवी जेभीले पाएको हो।
यस आयोजना अन्तर्गत रहेको दोस्रो खण्डमा कालोपत्रे गर्न एपेक्स कन्स्ट्ररक्सन कम्पनीले १ अर्ब ४३ करोडमा ठेक्का पाएको आयोजनाले जनाएको छ। उक्त कम्पनीले ३ वर्षभित्र सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्नुपर्ने आयोजनाका प्रमुख कुवेर नेपालीले बताए।
यस ठेक्कामा आवेदन परेका ९ वटा कम्पनीहरु बाट प्राविधिक रुपमा पास भएका ६ वटा निर्माण कम्पनीहरुबाट पेश भएका आर्थिक प्रस्तावमा सबैभन्दा कम एपेक्स कन्स्ट्रक्सन कम्पनीले बिड गरेको थियो। यस्तै अरु निर्माण व्यवसायीले पेश गरेको आर्थिक बिडभन्दा यो ८ करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म कम हो।
ठेक्कामा ९ वटा निर्माण कम्पनीको आवेदन परेको थियो। तर प्राविधिक मूल्यांकन गर्दा जम्मा ६ वटा निर्माण कम्पनीहरु मात्र आर्थिक प्रस्तावका लागि छनोट भएका थिए। आर्थिक प्रस्तावका लागि छनोट भएका ६ वटा कम्पनीहरुमा कन्काई/ सीएम/ ब्राइट जेभी सुनगाभा, श्रेष्ठ कन्ट्रक्सन, बानियाँ निर्माण सेवा, एपेक्स कन्स्ट्रक्सन कम्पनी, कान्छाराम/ ढुकुचु/ कमलजित जेभी र दिवा/ नवकान्तिपुर जेभी रहेका थिए। यिनीहरु बाटै आर्थिक प्रस्ताव पेष भएका थिए।
२०७९ वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार तमोर करिडोरको बहुवर्षीय ठेक्काका लागि ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको थियो।
२०६४ सालबाट औपचारिक रुपमा थालिएको तमोर करिडोरको २३८ मध्ये ११० किमी सडकखण्ड धनकुटाको मुलघाटबाट पाँचथरको गणेशचोकसम्म कालोपत्रे हुन लागेको हो।
यो सडकको पाँचथरको गणेश चोकदेखि धनकुटाको मुलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेन स्तरीय बनाउने काम २०७४ देखि थालिएको हो। अब यसको कालोपत्रेका लागि प्रक्रिया अघि बढेसँगै मेची तथा कोसी राजमार्ग हुँदै धरान (धनकुटा भएर पाँचथर पुग्दा तय गर्नुपर्ने (तमोर करिडोरको भन्दा) दोब्बर लामो यात्राको बाध्यता टर्ने भएको छ।
कालोपत्रे सडक खण्डको विभिन्न स्थानबाट हुने र काम थालनी भएको ३ वर्षभित्रै काम सकिने गरी ठेक्का लागेको छ। अहिलेका लागि लुभुघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किमी कालोपत्रे हुनेछ। यसमा काम गर्ने निर्माण व्यवसायीले ड्रेनेज, वाल, स्ल्याब तथा कल्भर्ट निर्माण गर्नुपर्नेछ। यो सडक डबल लेनमा विस्तार गरिएको सडक हो। त्यसैले अब कालोपत्रे पनि सोही अनुसार हुनेछ।