नासाले मार्जिन ट्रेडिङ सुरु गरेको तीन सातामा जम्मा ८ जनाले लिए सेवा, किन छैन आकर्षण ?



बिजमाण्डू
२०७९ कात्तिक २२ गते १६:०८ | Nov 8, 2022


नासाले मार्जिन ट्रेडिङ सुरु गरेको तीन सातामा जम्मा ८ जनाले लिए सेवा, किन छैन आकर्षण ?


काठमाडौं। नासा सेक्युरिटीज गत कात्तिक ३ गतेबाट सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरीद बिक्री गर्न मिल्ने 'मार्जिन ट्रेड्रिङ'सुरु गर्‍यो। तरलता अभाव, बढ्दो व्याजदर र बैंकहरुबाट पैसा नपाइरहेको अवस्थामा यो सेवा प्रभावकारी बन्ने अपेक्षा गरिएको थियो।

Tata
Global Ime

तर तीन सातामा मार्जिन ट्रेडिङमा आकर्षण देखिएको छैन। करीब २ लाख ४० हजार लगानीकर्ता भएको ब्रोकर कम्पनीमा हाल ३० हजार बढी लगानीकर्ता सक्रिय छन्। तर अहिलेसम्म ८ जनाले मात्रै यो सेवा लिएका छन्। 

'मार्जिन ट्रेडिङका बारेमा बुझ्न आउने धेरै हुनुहुन्छ। तर अहिलेसम्म ८ जना लगानीकर्ताले मात्र यो सेवा लिनु भएको छ,' कम्पनीका प्रमुख वित्तीय अधिकृत(सिएफओ) प्रमोद संजेलले भने, 'नेप्सेले मार्जिन कारोबारका लागि योग्य बनाएको कम्पनीहरु लिस्ट पुरानै भएर पनि होला। तर आज कारोबार गर्न योग्य कम्पनीहरुको नयाँ सूची आएको छ। नयाँसूची आएसँगै लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ।

नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीमा कुल ८७ कम्पनी परेका परेका छन्। जसमा बैंक तथा बीमा कम्पनी, लघुवित्त, हाइड्रोपावर लगायतका कम्पनीहरु छन्।

नासाले मार्जिन ट्रेडिङका लागि दुईवटा योजना सुरु गरेको छ। पहिलो योजना अन्तर्गत १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखेर कारोबार सुरु गर्न सक्नेछन्। ३० दिने अवधिका लागि यो योजना उपलब्ध हुनेछ। यसमा सेवा शुल्क र ब्याजसहित ९ हजार ९९९ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

अर्को १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिको अर्को प्याकेज छ। जसको सेवा शुल्क र ब्याजसहित २१ हजार ५८ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।

यो सुविधा नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची भित्र रहेर कारोबार गर्ने ग्राहकका लागि उपलब्ध हुने बताइएको छ।कम्पनीका अनुसार हालसम्म लगानीकर्ताहरुले दोस्रो अर्थात ५८ दिने योजना उपयोग गरिरहेका छन्। 'अहिले हाम्रोबाट जतिले सेवा लिनु भएको छ। उहाँहरुले लिमिट बढाउन आग्रह गर्नुभएको छ,'प्रमोदले भने

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार हाल सम्म मार्जिन कारोबारका लागि २२ वटा ब्रोकरले अनुमति पाएका छन्।