गोल्छा समूहको नियोटेरिक नेपालको व्यापार पौन ४ अर्ब नाघ्यो, डेलसहित बेच्छ हजार बढी प्रडक्ट



बिजमाण्डू
२०७९ कात्तिक २३ गते १०:४७ | Nov 9, 2022


गोल्छा समूहको नियोटेरिक नेपालको व्यापार पौन ४ अर्ब नाघ्यो, डेलसहित बेच्छ हजार बढी प्रडक्ट



काठमाडौं। आइटी क्षेत्रसहित नेपालका लागि डेल ल्यापटप र सर्भर बिक्री गर्ने आधिकारिक बिक्रेता नियोटेरिक नेपालको कारोबारमा उछाल छाएको छ। गोल्छा समूहको हिम इलेक्ट्रोनिक्स प्रालिको स्वामित्व रहेको यो कम्पनी नेपालकै ठूलोमध्येको आइटी कम्पनीमा गनिन्छ।

Tata
Global Ime

नियोटेरिक नेपाल नोकिया कर्पोरेसनको दूरसंचार उपकरणको समेत आधिकारिक वितरक हो। कम्पनीले २०२१ मा ३ अर्ब ७८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। 

अघिल्लो वर्ष २०२० मा कम्पनीको कारोबार २ अर्ब ३२ करोड ७० लाख रुपैयाँ र २०१९ मा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ थियो। 
कोरोना महामारीपछि आइटीका विभिन्न सेवा सुविधाको माग अत्यधिक बढेसँगै कम्पनीको व्यापार चम्किएको बताइएको छ। कम्पनीको मुख्य आम्दानी नै विभिन्न आइटीसम्बन्धी वस्तु तथा सेवा बिक्रीबाट भइरहेको छ। 

ल्यापटपको बिक्रीदेखि विद्युतीय उपकरण, कम्प्युटर, सर्भेलियन्स र भिडियो कन्फ्रेन्सिङ तथा अन्य सफ्टवेयर सोलुसनको बिक्रीबाट कम्पनीले बढी आम्दानी गरेको रेटिङ विवरणमा उल्लेख छ। 

यस्तै, कम्पनीले ठूला इन्टरनेट सेवा प्रदायक तथा दूरसंचार सेवा प्रदायकहरु वर्ल्डलिंक, नेपाल टेलिकम, सुबिसु, भायनेटलगायतलाई आवश्यक उपकरण बिक्री गर्छ। 

३० भन्दा बढी ब्राण्डसँग आबद्ध यो कम्पनीले नेपाली बजारमा १ हजारभन्दा बढी प्रडक्ट बिक्री गर्छ। कम्पनीले नोकिया, डेल टेक्नोलोजिज, डेल इएमसी, हिकभिजन, लोजिटेक, पिपललिंक, एसएपी, हेयर, माइक्रोटेक्स तथा अन्य ब्राण्डहरुसँग डिलरसीप सम्झौता गरेको छ। देशभर कम्पनीको वितरण नेटवर्क एक हजारभन्दा बढी भइसकेको बताइएको छ। 

कम्पनीले नेपालभर पाँचवटा आफ्नो शोरुम तथा कार्यालयबाट प्रडक्ट बिक्री गरिरहेको जनाएको छ। कम्पनीको अध्यक्ष सन्जय गोल्छा हुन्। 

कम्पनीले ३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ४८ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी प्लस र ३ अर्ब ४० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पाएको छ।