काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ।
दोस्रो बजारमा सूचीकृत भए लगत्तै खराब वित्तीय प्रदर्शनी देखाउँदा कम्पनी लगानीकर्ताबीच आलोचित बन्दै आएको थियो। पोहोर सो अवधिमा कम्पनी २ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा थियो।
खर्चिलो व्यवसाय र लगत्तै सुरु भएको कोभिड प्रकोपको चपेटामा पर्यटन व्यवसाय पर्दा कम्पनीको वित्तीय अवस्था खराब बन्दै गएको थियो। जसपछि बिस्तारै चलायमान हुन थालेको पर्यटकीय गतिविधिले कम्पनीको आर्थिक अवस्थामा क्रमशः सुधार ल्याएको छ। गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म यता कम्पनी नाफामा छ।
आम्दानीमा विशेष सुधारात्मक रणनिति अपनाएको चन्द्रागिरि हिल्सले पहिलो त्रैमासमै १८ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेको हो। पोहोर असोज मसान्तसम्म कुल आम्दानी ११ करोड रुपैयाँमा सीमित थियो।
आम्दानी बढेलगत्तै खर्चका शीर्षक पनि ह्वात्तै बढेका छन्। बिक्री लागत बढेर २ करोड ३१ लाख रुपैयाँ माथि पुगेको छ। त्यस्तै, कर्मचारी सेवा सुविधामा सर्वाधिक ३ करोड रुपैयाँ खर्च भएको देखिन्छ। प्रशासनिक र अन्य खर्च बढेर एक करोड ८२ लाख रुपैयाँ पुगेको हो।
कम्पनीले ब्याजबापत कुल ६ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ। पोहोर ४ करोड ७९ लाख रुपैयाँ दिएको थियो। यस अवधिमा कम्पनीसँग २ अर्ब ३३ करोड रुपैयाँ दीर्घकालीन कर्जा लिएको देखिन्छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ यथावत छ। जगेडा कोष ३८ करोड रुपैयाँभन्दा धेरै ऋणात्मक देखिन्छ। सो अवधिमा कम्पनीसँग कुल ३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ।
नाफा बढेसँगै ऋणात्मक प्रति सेयर आम्दानी पनि ०.८५ रुपैयाँ पुगेको हो। तर कम्पनीको प्रति सेयर नेटवर्थ भने ७५.१४ रुपैयाँ मात्र छ।


