काठमाडौं। नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित आगामी २२ औं साधारण सभा डाकेको छ। सभा आउँदो मंसिर १६ गते लाजिम्पाटको होटल ले हिमालयमा हुँदैछ।
कम्पनीले ९ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने आइएमई ग्रुपका प्रमुख वित्त अधिकृत दीपक शर्माले बताए। उनका अनुसार कम्पनीको जारी पुँजी ९० करोड रुपैयाँ छ। 'यसको १० प्रतिशत आइपिओ निष्कासन गर्ने योजना हो,' उनले बिजमाण्डूसँग भने।
कम्पनीले आधारभूत सेयरधनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी वृद्धि गर्ने तयारीमा पनि छ। बोनस सेयर वितरणको विशेष प्रस्ताव पनि सभाले पारित गर्दैछ।
ग्रुपका सीएफओ शर्माका अनुसार हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ। कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर वितरण गरिने छ। 'यसपछि कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। हाल कम्पनीको अधिकृत पुँजी भने एक अर्ब रुपैयाँ छ,' उनले भने।
साधारणसभाले प्रस्तावित एजेन्डा उपर छलफल गरि अनुमोदन गरे लगत्तै कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा जानेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीको योजन रहेको सीएफओ शर्माले बताए।
कम्पनीको अध्यक्ष उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल छन्। रेमिटेन्स समाधान प्रदायकहरू मध्येको अग्रगामी सो कम्पनी स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ।
आईएमई लिमिटेडले विश्वभर विश्व-स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ। आईएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ। कम्पनीको विश्वभर १० लाखभन्दा बढी स्थानहरूमा फैलिएको नेटवर्क छ।


