धेरै आयात गर्नेमा कुन कुन कम्पनी टप १० मा ? अटोतर्फ पहिलो हुलास, दोस्रो एमएडब्लु



२०७९ कात्तिक २५ गते १५:१५ | Nov 11, 2022


धेरै आयात गर्नेमा कुन कुन कम्पनी टप १० मा ? अटोतर्फ पहिलो हुलास, दोस्रो एमएडब्लु


काठमाडौं। गत वर्ष सबैभन्दा धेरै आयात गर्ने कम्पनीमा पञ्चकन्या स्टिल प्रालि परेको छ। भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै आयात गर्ने निजी कम्पनीमा पञ्चकन्या परेको हो।

Tata
Global Ime

पञ्चकन्याले पोहोर ८ अर्ब ५७ करोड बराबरको आयात गरेको थियो। पञ्चकन्या स्टिल प्रालिको वार्षिक १ लाख ५० हजार टन जडित उत्पादन क्षमता रहेको उद्योग छ। 

कम्पनीले गतवर्ष अघिल्लो वर्षको तुलनामा कारोबार ६९ प्रतिशतले वृद्धि गरेको छ। कोरोना महामारीका कारण २०२० मा कम्पनीको कारोबारमा धक्का पुगे पनि प्रतिस्पर्धात्मक बजार र उच्च बिक्रीका कारण २०२१ मा व्यापारमा उछाल आएको हो । 

२०२० मा कम्पनीले ३ अर्ब २६ करोड ५० लाख र २०१९ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२१/२०२२ को नौ महिनामा (अपरिष्कृत विवरणअनुसार) कम्पनीले ५ अर्ब ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ। भैरहवामा प्लान्ट रहेको कम्पनीले पञ्चकन्या ब्राण्डमा टीएमटी बार बिक्री गरिरहेको छ। 

कम्पनीले डन्डी उत्पादनका लागि महत्त्वपूर्ण कच्चा पदार्थ एमएस बिलेट भारतबाट आयात गरिरहेको छ। २०२१ मा कुल संचालन आम्दानीको ९२ प्रतिशत हिस्सा कच्चा पदार्थमा खर्चिएको छ। २०२० मा यो ८७ प्रतिशत थियो।  

देशभर ९० वटा डिलर रहेको कम्पनीले अधिकांश भागमा डन्डी बिक्री गरिरहेको छ। पञ्चकन्या स्टिलमा सात सदस्यीय सञ्चालक समिति छ। जसको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ छन्। कम्पनीको प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ छन्।

यद्यपि हाल यो कम्पनी हाल बन्द भएको बताइएको छ। दोस्रो धेरै आयात गर्नेमा काठमाडौंको अम्बे स्टील प्रालि छ। बजार विस्तार आक्रामक तवरले गरिरहेको अम्बेले गतवर्ष मात्रै ८ अर्ब ३२ करोड बराबरको कच्चा पदार्थ आयात गरेको छ। 

तेस्रो धेरै आयात गर्नेमा दुई पांग्रे सवारी बिक्रेता हुलास अटो क्राफ्ट प्रालि काठमाडौं छ। कम्पनीले गतवर्ष मात्रै ८ अर्ब २९ करोड बराबरको आयात गरेको छ। यो कम्पनीले बजाज ब्राण्डका पल्सर, एनएस, एभेन्जर, डिस्कभर लगायत मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ। 

कम्पनीले नेपालमै एसेम्बल उद्योग सञ्चालन गरी मोटसाइकल फिटिङ गरेर बजारीकरण गरिरहेको छ। यो कम्पनीका सञ्चालक उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा हुन्।

यस्तै चौथो धेरै आयात गर्नेमा श्री स्टिल प्रालि रुपन्देही छ। यो कम्पनीले पनि बिलेड आयात गरी डन्डी बनाएर बिक्री गरिरहेको छ। कम्पनीले गतवर्ष ६ अर्ब २७ करोड बराबरको आयात गरेको छ।  

पाँचौ धेरै आयात गर्नेमा एमएडब्लु इन्टरप्राइजेज प्रालि मोरङ छ। बजारमा बजाजपछि दोस्रो धेरै मोटरसाइकल बिक्री गर्ने यो कम्पनीले गतवर्ष ६ अर्ब ५ करोड रुपैयाँको आयात गरेको छ।

यो कम्पनीले जापानी कम्पनी यामाहाले उत्पादन गरेको मोटरसाइकल बिक्री गर्दै आएको छ। सरकारले एसेम्बल उद्योगका लागि दिएको सुविधाका कारण यसले पनि एसेम्बल उद्योग सञ्चालन गर्ने तयारी गरेको छ। कम्पनीका सञ्चालक नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल हुन्। 

धेरै आयात गर्नेको सूचीमा छैटौं सिप्रदी ट्रेडिङ प्रालि काठमाडौं छ। यो कम्पनीले भारतीय अटोमेकर कम्पनी टाटाको उत्पादन बिक्री गर्दै आएको छ। गतवर्ष ५ अर्ब ४० करोड मूल्य बराबरको आयात गरेको छ। कम्पनीले पछिल्लो नेक्सन इभीको बजार विस्तारमा आक्रामक बनिरहेको छ। जसमा जार्चिङ स्टेसन विस्तारमा पनि ध्यान दिइरहेको छ। 

यस्तै सातौं धेरै आयात गर्नेमा अर्घाखाँची सिमेन्ट उद्योग छ। यो उद्योगले गतवर्ष ५ अर्ब १३ करोड बराबरको आयात गरेको छ। यो कम्पनीले कोइला फ्लाई आइस जस्ता कच्चा पदार्थ आयात गर्ने गरेको छ।

यो कम्पनीले चालु वर्षदेखि भारतमा निर्यात समेत सुरु गरिसकेको छ। यस्तै आठौं धेरै आयात गर्नेमा मोबाइल फोन आयातकर्ता कम्पनी परेको छ। यो कम्पनीले ५ अर्ब १२ बराबरको मोबाइल आयात गरेको छ। यो कम्पनी दक्षिण कोरियाली कम्पनी सामसङ कम्पनीका उत्पादनहरु बिक्री गर्दै आएको छ। 

यस्तै धेरै आयात गर्ने नवौं नम्बरमा सिद्धिलक्ष्मी स्टिल प्रालि छ। यो कम्पनीले उदयोगको लागि आवश्यक पर्ने ५ अर्ब ५ करोड बराबरको सामाग्री आयात गरेको छ। यो कम्पनीका सञ्चालक उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ हुन्। 

यसैगरी दशौं धेरै आयात गर्नेमा स्याकर ट्रेडिङ कम्पनी छ। यसले ४ अर्ब ७२ करोडको आयात गरेको छ। स्याकारले होन्डा ब्राण्डका मोटरसाइकल बिक्रीवितरण गर्दै आएको छ।

गतवर्ष इतिहासमै सबैभन्दा धेरै १९ खर्ब २० अर्बको आयात भएको थियो।