काठमाडौं। पछिल्लो वृद्धिको करिब ६९ प्रतिशत अंश सेयर बजारले गुमाएको छ। बजार बिक्रेताले डोमिनेट गर्न थालेपछि कारोबार रकम पनि उल्लेख्य घटेको छ।
१८३४ बाट निरन्तर बढ्न सुरु गरेको नेप्से परिसूचक १९८७ सम्म उक्लिसकेको थियो। यसबीच १५३ अंकको वृद्धि परिसूचकले लिइसकेको थियो। तर डेढ सयको प्रोफिट बुक गर्नेहरु बाक्लिएलगत्तै परिसूचकले निरन्तर ओरालो यात्रा तय गरिरहेको छ।
१९८७ सम्म पुगेको बजार साताको पहिलो कारोबार दिन १०.५४ अंक घटेर १८८३ को विन्दुमा सिमित छ। परिसूचकले १०६ अंक गुमाइसकेको छ।
सस्तिएको मूल्यमा चर्किएको बार्गेनिङका कारण किनबेच पनि ७७ करोड रुपैयाँमा सिमित छ। बजार फराकिलो अंकले बढ्दै गर्दा बजारमा २ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो।
आइतबार अधिकांश उपसमूहमा बिक्रेताको प्रभुत्त्व देखिन्छ। तर होटल तथा पर्यटन अनर्गतका सेयरका खरिद चाप छ। व्यवसायमा उल्लेख्य सुधार गर्न सफल होटलहरुले गत वर्षका लागि आकर्षक लाभांश प्रस्ताव गर्ने प्रक्षेपण छ। चालु आवको पहिलो त्रैमासमा पनि यसता कम्पनीहरुको वित्तीय अवस्था प्रगति उन्मुख देखिन्छ।
वित्त र विकास बैंक उपसमूह भने सामान्य मात्र घटेका छन्। बजारमा सर्वाधिक उतारचढावयुक्त सेयर यही दुई वर्गमा सूचिकृत भएतापनि प्रतिनिधि उपसूचकमा उल्लेख्य गिरावट देखिँदैन।


