काठमाडौं। उत्पादन लागत बढेपछि बोटलर्स नेपाल लिमिटेडको नाफा खुम्चिएको छ। बढेको आम्दानीका बाबजुद लागत उच्च हुन गएपछि बालाजु र तराई दुवैको नाफामा गिरावट आएको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बालाजुको खुद नाफा ४० करोड १५ लाख रुपैयाँ र तराईको ३१ करोड र६७ लाख रुपैयाँमा सीमित छ। पोहोरको तुलनामा बालाजुको नाफा १४.३९ प्रतिशत र तराईको १६.८५ प्रतिशतले घटेको हो।
विशेषगरी तराईको नाफामा गिरावट आउँदा समग्र कम्पनीको नाफा खुम्चिएको हो। तराईमा बालाजुको कुल सेयरमध्ये ९०.७८ प्रतिशत सेयर हिस्सा छ। बाँकी ९.२२ प्रतिशत मात्र अन्यको छ। यो कम्पनीको पुँजी १२ करोड १० रुपैयाँ छ।
बालाजुमा भने कोकाकोला साउथवेस्टको ७६.१६ प्रतिशत सेयर हिस्सा छ। गोर्खा ब्रुअरीको २२ प्रतिशत सेयर छ भने सर्वसाधारणको १.८४ प्रतिशत मात्र सेयर छ। कम्पनीको कूल सेयर पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ।
असोज अन्त्यसम्म बोटलर्स नेपाल (बालाजु) ले कुल ४ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको छ। यो रकम पोहोर ३ अर्ब ४१ करोड रुपैयाँमा सीमित थियो। एक आर्थिक वर्षको अवधिमा कम्पनीको व्यवसायिक आम्दानी १७.५९ प्रतिशत बढेको हो। यता बोटलर्स नेपाल (तराई) को आम्दानी २० प्रतिशत बढेर २ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
आम्दानी बढेपनि दुवैको उत्पादन लागत ह्वात्तै बढेको हो। बालाजुको उत्पादन लागत २१.२७ प्रतिशत र तराईको २५.७५ प्रतिशत बढेको देखिन्छ। विदेशी विनिमयमा देखिएको उतारचढावले कम्पनीको कच्चा पदार्थको लागत बढेको हो। मुद्रास्फीतिका कारण बढेको सञ्चालन खर्च तथा कमोडिटी र ऊर्जाको मूल्यले पनि नाफामा प्रभाव पारेको छ।
कम्पनीको सञ्चालन सहित बिक्री वितरण र प्रशासनिक लागत बढेको छ। ब्याजदर बढेका कारण ब्याज भुक्तानी पनि बढेको हो।


