काठमाडौं महानगरपालिकाले पहिलो दिन २७५ परिचय पाटी हटायो, अनधिकृतलाई निरन्तर हटाउने 



बिजमाण्डू
२०७९ कात्तिक २९ गते १०:४४ | Nov 15, 2022


काठमाडौं महानगरपालिकाले पहिलो दिन २७५ परिचय पाटी हटायो, अनधिकृतलाई निरन्तर हटाउने 


काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरमा व्यवसायिक पहिचानका लागि राखिएका २७५ अनधिकृत परिचयपाटी हटाएको छ।

Tata
Global Ime

मापदण्डविपरीत र अनुमति नलिई राखिएका परिचयपाटी हटाउन थालेको पहिलो दिन सोमबार काठमाडौंका चार क्षेत्रबाट त्यस्ता सामाग्री हटाइएको हो। अनधिकृतरूपमा राखेका र मापदण्डभन्दा ठूलो आकारका बोर्डहरु हटाउने कामलाई निरन्तरता दिइने योजना महानगरपालिकाको छ। 

महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाका अनुसार पूर्वमा गौशालाबाट ९४, पश्चिममा कालीमाटीबाट ५३, उत्तरमा महाराजगञ्ज चोकबाट ८० र मध्य क्षेत्र रामशाह पथ-पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो। ३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी र ३० वर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ। 

यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन्। उनीहरुले भर्‍याङ. वायर कटर, आइरन कटर लगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन्। उनीहरुलाई हेल्मेट, पञ्जा लगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको महानगरले जनाएको छ।