साढे ८ लाख रुपैयाँ चुक्ता पुँजीको नेपाल बैंक साढे १४ अर्बको बन्यो, ८६ वर्षमा फराकिलो छलाङ



बिजमाण्डू
२०७९ कात्तिक ३० गते ०९:१८ | Nov 16, 2022


साढे ८ लाख रुपैयाँ चुक्ता पुँजीको नेपाल बैंक साढे १४ अर्बको बन्यो, ८६ वर्षमा फराकिलो छलाङ


काठमाडौं। केन्द्रिय बैंकभन्दा पुरानो नेपाल बैंक सञ्चालनको ८६औं वर्षमा पुगेको छ। विश्वमा १७औँ शताब्दीदेखि बैंकिङ सुरु हुँदा नेपालमा भने बिक्रम संबत १९९४ कुर्नु पर्‍यो।

Tata
Global Ime

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सुरु भएको नेपाल बैंकमा तत्कालिन अवस्थामा १० जना लगानीकर्ता थिए। ८ लाख ४२ लाख हजार रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख रुपैयाँ थियो भने ऋण लगानी १९ लाख रुपैयाँ थियो। 

नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंकलाई जाने गरेको छ। बैंकले कात्तिक ३० गते वार्षिकोत्सव मनाउँदैछ। 

स्थापनादेखि २०१३ सालसम्म नेपाल बैंकले देशको केन्द्रिय बैंकको भूमिकासमेत खेलेको थियो। 

८६औं वर्षमा आउँदा नेपाल बैंकका ग्राहक २३ लाखभन्दा बढी पुगेका छन्। ठुला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीमा समेत बैंकले लगानी गरेको छ। बैंकले सरकारी कारोबारलाई पनि प्राथमिकतामा राखेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रणी भूमिका खेलेको बैंकले देशको आर्थिक विकासमा योगदान गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

अर्थतन्त्रको मौद्रिकीकरण तथा देशैभर शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच बढाएर एवं सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गरी गरिबी निवारणमा समेत योगदान गरेको छ।

'बैंकले उद्योग तथा वाणिज्य क्षेत्रको विकासमार्फत प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी सिर्जना गरेर आर्थिक विकासमा प्रभावकारी भूमिका खेलिरहेको छ,' प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने।

साना मझौला एवं ठुला सबै खाले उद्यम र परियोजनामा बैंकले ऋण लगानी गरेको छ। कृषि, पर्यटन, जलविद्युत तथा सरकारको नीतिअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य छ।

युवा स्वरोजगारका क्षेत्र, महिला उद्यमशिलता, शैक्षिक बेरोजगार व्यक्तिहरूलगायत विदेशबाट फर्किएका सीपयुक्त व्यक्तिहरूलाई सक्षम एवं आत्मनिर्भर बनाउन सरकारले दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई समेत बैंकले प्रभावकारी रूपमा कार्यान्वयनसमेत गर्दै आइरहेको बैंकले उल्लेख गरेको छ।

परम्परागत बैकिङबाट आधुनिक बैंकिङमा फराकिलो छलाङ मार्न सफल बैंकले अहिले सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, सी-आस्वा, क्युआरकोड लगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरू दिइरहेको छ। 

बैंकले आधुनिक बैंकिङ सेवाको साथमा सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटोछरितो र सुरक्षित प्रतीतपत्र, बैंक जमानतलगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू प्रदान गरिरहेको छ। 

वित्तीय अवस्था हेर्न यहाँ क्लिक गर्नुस्

वर्तमान अवस्था

सेवाविस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको बैंकका देशभर २२६ शाखा छन्। बैंकले शाखासँगै १९९ वटा एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर छन्। 

हाल आएर  नेपाल बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल पनि दिन थालेको छ। सन् २००२ मा खराब अवस्थामा पुगेपछि ठूलो सुधार कार्यक्रम सञ्चालन गर्नु परेको थियो। यही कारण लामो समय प्रतिफल दिन सकेको थिएन। तर बैंकले पछिल्ला दिन अन्य बाणिज्य बैंकभन्दा उच्च प्रतिफल दिन थालेको छ।

असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गरिसकेको छ। ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब रुपैयाँ पुगेको छ।

प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ।  बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ।

'प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत बैंक दरिलो भइसकेको छ,' अधिकारीले भने। 

आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य पनि बढेको छ। कुनैबेला उच्च कर्मचारी खर्चका कारण प्रतिस्पर्धी देखिन नसकेको बैंक बिस्तारै दायित्वमुक्त मात्र भइरहेको छैन युवा पुस्ताको बाहुल्यता बढाएर आधुनिक र छरितो बैंकिङ सुविधा प्रवाहमा पनि सफल देखिन थालेको छ।

अहिले बैंकसँग करिब ३४०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन्। यस बैंकमा कार्यरत कर्मचारीहरूको औसत उमेर ३५ वर्ष रहेको छ।