हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा, नयाँ प्लान्टलाई ८ अर्ब रुपैयाँ लाग्ने अनुमान



बिजमाण्डू
२०७९ कात्तिक ३० गते १७:१७ | Nov 16, 2022


काठमाडौं। सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।

Tata
Global Ime

तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ।

यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने उनको भनाइ छ।

हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ। कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो।

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ।

भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो। उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोड रुपैयाँदेखि एक अर्ब र नयाँ प्लान्ट निमार्णका लागि पाँच अर्बदेखि आठ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ।

उद्योगमा हाल दुई सय १८ जना कर्मचारी छन्। रासस